स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नेगरी बजेट ल्याएका छौं : अर्थमन्त्री पुन

Barsaman_pun
लोकपाटी न्यूज

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने गरी बजेट ल्याएको बताएका छन्। नाफिजद्वारा आज यहाँ आयोजित बजेटपछिको अन्तर्क्रियामा उनले उत्पादन तथा उद्योगलाई संरक्षण गर्नेतर्फ बजेटले ध्यान दिएको बताएका हुन्।

कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जालगायत प्राथमिकता पाएका क्षेत्रले आर्थिक वृद्धिमा मुख्य भूमिका खेल्नुपर्नेमा अर्थमन्त्री पुनले जोड दिए। पछिल्लो समय सार्वजनिक वित्त व्यवस्थापनमा समस्या देखिएको उनको भनाइ छ। ‘आन्तरिक ऋणको मात्रा बढिरहेको छ। यस्तो अवस्थामा स्रोत जुटाउनु चुनौतीपूर्ण भएको छ। चालु खर्च घटाउने र पुँजीगत खर्च बढाउनेतर्फ सबैले सोच्नुपर्ने बेला आएको छ,’ उनले भने।

अर्थमन्त्री पुनले आर्थिक ऐनमार्फत करका दर हेरफेर गर्दा आवश्यकता र औचित्य हेरिएको दाबी गरे। उनले स्टील उद्योगले प्रयोग गर्ने कच्चापदार्थ ‘स्पन्ज आइरन’ र ‘बिलेट’मा करका दर हेरफेर गर्दा टिप्पणी आउने सम्भावना थियो भन्दै विभिन्न सरकारी अध्ययनको आधारमा ती वस्तुमा करको दर हेरफेर गरिएको बताए।

‘स्पन्ज आइरनका विषयमा तरङ्ग आउँछ भन्ने लागेको थियो, आयो पनि। यो विषय अध्ययन र छलफल गरी ल्याएका हौं,’ अर्थमन्त्री पुनले भने, ‘यसबारे आजै व्यवसायीसँग छलफल गर्दै छौं। हामीले लुकाएर करका दर हेरफेर गरेका छैनौं। तथ्यमा आधारित भएर यसतर्फ काम गरेका हौं।’

उनले तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकांश क्षेत्र र सरोकार भएका सबै क्षेत्रबाट सन्तुलित बजेट आएको भनेर प्रतिक्रिया पाइरहेको पनि बताए। केही ठाउँबाट आलोचना भएपनि अधिकांश क्षेत्रले बजेट सन्तुलित आएको प्रतिक्रिया पाइरहेको अर्थमन्त्री पुनको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्