अर्थतन्त्र सुधार्न तितो औषधि खाने बेलामा बजेटले सहज बाटो रोज्यो : पूर्वअर्थमन्त्री महत

Prakash_Sharan_Mahat
लोकपाटी न्यूज

काठमाडौं। पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधार गर्न तितो औषधि खान तयार हुनुपर्नेमा बजेटले सहज बाटो हिँड्ने प्रयास गरेको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सांसद डा. महतले प्रस्तुत चालु आर्थिक वर्षको बजेटले नेपालको अवस्था सुधार नहुने महतले बताएका हुन्।

उनले उत्पादनशील क्षेत्रमा वित्तीय लगानी बढाउनुपर्नेमा जोड दिए। उनले उत्पादनशील क्षेत्रमा लगानी बढाउन नसक्दा मुलुकको आर्थिक वृद्धिमा असर पुग्ने बताए। ‘ऋण लिएर उत्पादनशील खर्च गर्न नसक्दा उत्पादन तथा रोजगारी बढ्दैन र राजस्व पनि बढ्दैन,’ उनले भने, ‘जसले गर्दा राज्यलाई ऋणको भार बढ्दै जाने र ऋण तिर्नका लागि ऋण लिनुपर्ने अवस्था आउने छ।’

आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट कनिका छरे जसरी विनियोजन भएको भन्दै महतले आपत्ति जनाए। बजेट पार्टीमुखीभन्दा जनतामुखी हुनुपर्ने र विनियोजित बजेट प्राथमिकीकरणको आधारमा खर्च गर्नुपर्ने उनको भनाइ छ।

महतका अनुसार बजेटको आकार बढे पनि व्यवस्थित रुपमा खर्च गर्न नसके मुलुकको आर्थिक विकास हुन सक्दैन। ‘वित्तीय स्रोत उत्पादनशील क्षेत्रमा खर्च गर्न नसक्दा प्रतिफल आउन सकिरहेको छैन र यसले रोजगारी सिर्जना भएको छैन,’ उनले भने, ‘आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेट प्राथमिकीकरण गरिएको छैन। आवश्यकताको आधारमा विनियोजन भएन।’

उद्योग वाणिज्य मन्त्रालयको बजेट कम भएको भन्दै लगानीलाई उत्पादनमुखी बनाउनुका सट्टा अनुत्पादनशील क्षेत्रमा खर्च हुने गरी विनियोजन भएको उनको टिप्पणी छ। महतले वित्तीय स्रोत जुटाउने र खर्च गर्ने विषयमा ख्याल गर्नुपर्नेमा जोड दिए। ‘आगामी आर्थिक वर्षको बजेटले कङ्क्रिट दिशा पत्ता लगाउन सकेको छैन,’ उनले भने, ‘हामीले राजस्व राम्रो उठाएका छौं। तर प्रतिफल आएको छैन। लगानी भएको छ, कर उठाएका छौं, तर उत्पादन बढेको छैन। यी समस्याको समाधान खोज्न जरुरी छ।’

उनले राज्यको वैदेशिक ऋण बढिरहेको र निजी क्षेत्रले लिने ऋणको भार थपिए पनि प्रतिफल आउन नसक्दा अर्थतन्त्रमा ह्रास आएको टिप्पणी गरे। पछिल्लो समय सहकारी ठगीका कारण बचतकर्ता समस्यामा परिरहेको भन्दै उनले सरकारीको नियम कानुनभन्दा बाहिर गएर खर्च गर्ने व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्