सरकार नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धनमा लागेको छ : उपप्रम श्रेष्ठ

NarayanKaji_Shresth
लोकपाटी न्यूज

गण्डकी। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकार नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धनमा लागेको बताएका छन्। चौहत्तऔँ अन्नपूर्ण दिवसका अवसरमा पोखरामा आइतबार आयोजित एक रात्रिभोजमा उनले प्रकृति, संस्कृति, परम्परा, भौगोलिक विविधता आदि हाम्रा पर्यटकीय धरोहर भएको बताएका हुन्।

‘नयाँ गन्तव्य स्थल र पदमार्गको पहिचानसँगै पर्यटकीय सर्किट विकास गर्न सरकारले योजना बनाइरहेको छ,’ उनले भने, ‘प्रकृति, संस्कृति, परम्परा, भौगोलिक विविधता आदि हाम्रा पर्यटकीय धरोहर हुन्।’ उपप्रधानमन्त्री श्रेष्ठले आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको जनाए।

उनले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए। उपप्रधानमन्त्री श्रेष्ठले पर्यटकीय राजधानी पोखरा साहसिक पर्यटन गतिविधिमा पनि उत्तिकै महत्त्वपूर्ण गन्तव्यका रुपमा विकास भइरहेको बताए। उनले ध्यान, योग र आध्यात्मिक पर्यटनका माध्यमबाट पनि पोखराको थप विकास गर्न सकिने बताए।

अन्नपूर्ण दिवसका अवसरमा आइतबार नै विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिले कास्कीको धम्पुसदेखि अस्तामसम्म पदयात्रा गरेका थिए। विश्वमै पहिलो पटक आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणको सम्झनामा उक्त पदयात्राको आयोजना गरिएको थियो। सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई लाशनालले आठ हजार ४१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए।

सोही दिनको सम्झनामा बर्सेनि अन्नपूर्ण दिवस मनाउने गरिन्छ। पर्यटकीय राजधानी पोखरामा विविध कार्यक्रमसहित आज ७४औँ अन्नपूर्ण दिवस मनाइँदैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्