राजस्व बढाउन गैरकानुनी कारोबार बन्द गर्नुपर्छ : धनराज गुरुङ

Dhanraj_Gurung
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले देश बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले सत्तामा बस्दा र नबस्दा पनि देश बनाउने संकल्पका साथ सबैले काम गर्नुपर्ने बताएका हुन्।

सांसद गुरुङले बजेट कार्यान्वयनको सन्दर्भमा आशंका रहेको बताएका छन्। उनले आगामी वर्षको बजेटका लक्ष्यअनुसार राजस्व संकलन हुनेमा पनि आशंका व्यक्त गरे। राजस्व बढाउन करका दायरा र गैरकानुनी कारोबार बन्द गर्नुपर्ने धारणा राखे।

‘घाटा बजेटलाई काम गर्न नयाँ उत्पादनका स्रोत खोज्नुपर्ने छ। यसैगरी बजेट कार्यान्वयन जाँदा सक्षम हुन्छ कि हुँदैन, बजेटका कतिपय बुँदामा रकम नै उल्लेख भएको देखिँदैन, यसर्थ यथार्थवादी भएर मूल्यांकन गर्नुपर्छ,’ उनले भने।

हिन्दु धर्मावलम्बीका लागि नेपाल तपोभूमि र बौद्धधर्मावलम्बीका लागि लुम्बिनी प्रसिद्धस्थल रहेको बताउँदै उनले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न लाग्नुपर्नेमा जोड दिए। सांसद गुरुङले बजेटमा समेटिएको गाँजा खेतीको विषयलाई कानुन बनाएर कार्यान्वयनमा लैजानुपर्ने भन्दै आफू कानुनमन्त्री हुँदा यसबारेमा कोसिस गरेको समेत स्मरण गरे।

‘औषधिका रूपमा गाँजाखेती गर्न सकियो भने दुई खर्ब र घरेलु मदिरालाई ब्रान्डिङ गरे थप दुई खर्ब राजस्व संकलन गर्न सकिन्छ। त्यस्तै नेपालमा रहेका सात सय ३६ जातका जडीबुटीको व्यावसायिक खेती गरेर थप दुई खर्ब आम्दानी गर्न प्रशस्त सम्भावना छ। यसतर्फ पनि सोच्न जरुरी छ,’ गुरुङले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्