पुँजीगत खर्चमा अर्थमन्त्री कडा हुनुपर्ने छ : नेता पन्त

Raghuji_Panta
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं सांसद रघुजी पन्तले सरकारले अनुत्पादक पुँजीगत बजेटलाई पनि कटौती गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका हुन्।

उनले बजेटको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक अनुशासनहीनतालाई नियन्त्रण गर्न सुझाव दिए। बजेटमा केही अन्तर्विरोधी विषय भएको उल्लेख गर्दै सांसद पन्तले राखिएका लक्ष्य पूरा हुनेमा आशंका रहेको बताए।

‘विभिन्न आशंका छन्। बजेटलाई यथार्थवादी भएर समीक्षा गर्दै पुँजीगत खर्चमा कडा हुन अर्थमन्त्रीलाई मेरो आग्रह छ,’ उनले भने। बजेटमार्फत कृषि लगानी वर्ष घोषणा गरिए पनि बजेट घटेको भन्दै उनले लक्ष्य हासिल हुनेमा संका व्यक्त गरे। सांसद पन्तले तोकिएको राजस्व नउठे के गर्ने भनी प्रश्न गरे।

उनले भने, ‘अघिल्लो वर्ष पनि तोकिएको लक्ष्यअनुसार राजस्वको उठेन, यो बजेटमा पनि निर्धारित राजस्व उठेन भने कसरी पूर्ति गर्नुहुन्छ।’ यसैगरी काठमाडौं-हेटौंडा द्रुतमार्ग बनेमा पेट्रोलियम पदार्थमा जाने ठूलो रकम बचत हुने भन्दै उक्त आयोजना चाँडो कार्यान्वयन गर्न आवश्यक बजेट व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्