समयमै फास्ट ट्र्याकको निर्माण सम्पन्न गर्न थप मेहनत गर्नुपर्छ : रक्षामन्त्री

Hari_Prasad_Upreti
लोकपाटी न्यूज

काठमाडौं। रक्षामन्त्री हरिप्रसाद उप्रेतीले रक्षामन्त्रालयअन्तर्गतका निकायले सञ्चालन गरेका विकास-निर्माणका परियोजनामा लक्ष्यअनुसारको प्रगति प्राप्तिका लागि थप मेहनत गर्न निर्देशन दिएका छन्।

रक्षा मन्त्रालयमा आज आयोजित चालु आवको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री उप्रेतीले काठमाडौं-तराई/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) को निर्माण निर्धारित समयमा सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिए।

राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको द्रुत मार्गको निर्माणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चासोका साथ हेरिएको उल्लेख गर्दै मन्त्री उप्रेतीले जनतालाई आशावादी बनाउन यस्ता परियोजना समयमा नै सम्पन्न गर्नुपर्ने बताए। ‘आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम एवं बजेट वक्तव्यमा पनि द्रुत मार्ग निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ,’ उनले भनिन्, ‘विसं २०८३ चैतभित्र द्रुत मार्गको सम्पन्न गर्नुपर्छ। यसका लागि थप मेहनत गर्नुपर्छ।’

केही अव्यवहारिक कानुनका कारण गौरवका आयोजना निर्माणमा विलम्ब भएको महसुस गरिएको जनाउँदै मन्त्री उप्रेतीले कानुनी तथा नीतिगत सुधार गरेर अघि बढ्न सरकारले प्रयास गरिरहेको बताए। खरिद प्रक्रियालाई पारदर्शी र कानुनसम्मत बनाउन निर्देशन दिँदै उनले द्रुतमार्गको गुणस्तरमा कुनै सम्झौता गर्न नहुनेमा जोड दिए।

उप्रेतीले द्रुत मार्गको प्रवेश विन्दुका रुपमा मानिएको ललितपुरको खोकना क्षेत्रमा देखिएको विवाद समाधान उन्मुख भइरहेको जानकारी दिए। नेपाली सेनाद्वारा निर्माणाधीन सडक पूर्वाधारको प्रगति सन्तोषजनक रहेकामा खुसी व्यक्त गर्दै उनले स्रोतको अभावमा केही परियोजनाले आशातीत प्रगति गर्न नसकेको स्वीकार गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्