काँग्रेस सांसदले मागे गृहमन्त्रीको जवाफ : कहिले, कति मूल्यमा विदेशीलाई गोप्य सूचना बेचियो ?

Rajendra_kc
लोकपाटी न्यूज

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले देशको गोप्य सूचना विक्री गर्ने सांसदबारे विस्तृत जानकारी माग गरेका छन्। प्रतिनिधिसभा आजको बैठकको शून्य समयमा काँग्रेस सांसद राजेन्द्रकुमार केसीले विदेशीलाई कसले गोप्य सूचना बेचेको हो भन्ने विषयमा गृहमन्त्रीको जवाफ माग गरे।

उनले भने, ‘देशको गोप्य सूचना विदेशमा बेच्ने सांसद यही संसदमा छ भनेर केही दिनअघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भन्नुभयो। त्यो पनि सभामुखज्यूलाई साक्षी राखेर भन्नुभयो। यो अत्यन्तै गम्भीर कुरा हो, यो केवल आन्तरिक मामिलासँग मात्र सम्बन्धित छैन।’

नागरिकहरू विदेशीलाई गोप्य सूचना बेच्ने सांसदबारे थाहा पाउनका लागि आतुर रहेको उनले बताए। सांसद केसीले भने, ‘यही संसदमा गोप्य सूचना बेच्ने मान्छे छ भनेर मुलुकको गृहमन्त्रीले भन्नेको कुरा अत्यन्तै गम्भीर कुरा हो। नेपाली जनता हेर्न चाहन्छन् को रहेछ त्यो देशको गोप्य सूचना बेच्ने ? यसको जानकारी चाहियो। कहिले, कहाँ, कसरी, कति मूल्यमा देशको सूचना बेचियो ?’

यसअघि आइतबार बसेको बैठकमा काँग्रेस महामन्त्री गगन थापाले गृहमन्त्रीले लगाएको आरोपबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरेका थिए। जेठ ६ गते संसद्लाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री लामिछानेले विदेशीलाई सूचना बेच्ने सांसद यही संसद्मा रहेको आरोप लगाएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्