बजेटले परम्पराको निर्वाह मात्र गर्‍यो : अध्यक्ष लिङ्देन

Rajendra_Linden
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्षको बजेट परम्परागत भएको र यसले विद्यमान चुनौतीको सम्बोधन गर्न नसक्ने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले प्रस्तुत बजेटले जनतामा आशाको सञ्चार गर्न नसकेको र त्यसले परम्पराको निर्वाह मात्र गरेको टिप्पणी गरे। लिङ्देनले भने, ‘मुलुकको अर्थतन्त्रको अहिलेको अवस्थामा छलाङ मार्न सक्ने अवस्था छैन, बजेटले आशा जगाउन सकेको छैन।’

अनुमान, अनुदान र ऋणलाई आधार मानेर बनाएको बजेटले आर्थिक रूपान्तरणका लक्ष्य हासिल गर्न कठिन हुने बताए। उनले पुँजीगत खर्च र चालु खर्चको दूरी बढेको भन्दै त्यसलाई साँघुराउने कुनै प्रयत्न नभएको पनि बताए। ‘कार्यक्रम फरक ढंगले आउनुपर्थ्यो, चालु आवमा चालु र पुँजीगत खर्चको दूरी व्यापक छ, त्यसलाई साँघुर्‍याउने प्रयत्न भएन,’ उनले भने।

लिङ्देनले विद्युतीय सवारीहरूमा लगाइएको कर फिर्ता लिन अर्थमन्त्रीलाई आग्रह गरे। उनले विद्युत् खपत गर्नका लागि विदेशमा बेच्नुपर्ने अवस्था भएको अवस्थामा विद्युतीय सवारीमा कर लगाइनु उचित नभएको बताए। उनले कसैको कुरा सुनेर केवल राजस्व वृद्धि गर्न भनी विद्युतीय सवारीमा कर लगाउनु उचित नभएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्