निजी क्षेत्रको लगानी आकर्षित गर्ने प्रावधान बजेटमा समेटिएको छ : प्रधानमन्त्री

Prachanda_PM
लोकपाटी न्यूज

सङ्खुवासभा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। सङ्खुवासभा मकालु-५ को आमराङस्थित अरुण-३ जलविद्युत् आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा उनले सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने प्राथमिकता निर्धारण गरेर काम गरिरहेको वर्तमान सरकारले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको बताएका हुन्।

‘यस आयोजनाबारे मैले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जानकारी लिँदै आएको छु। सन् २०१४ नोभेम्बर २५ मा परियोजना विकास सम्झौतामा हस्ताक्षर भई हाल निर्माणाधीन अवस्थामा छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हाल परियोजनाको उत्पादनतर्फ ७४ दशमलव ०९ प्रतिशत र प्रसारण लाइनतर्फ ३७ दशमलव ९५ प्रतिशत भौतिक प्रगति भएकामा खुसी लागेको छ।’

आयोजना निर्माणपछि देशको विद्युत् व्यापारमा महत्त्वपूर्ण योगदान हुने विश्वास प्रधानमन्त्री प्रचण्डले व्यक्त गरे। ‘यस परियोजनाका लागि आवश्यक जग्गा प्राप्तिलगायत आवश्यक सहयोग र सहजीकरण गर्दै निर्धारित समयमै आयोजनाको बाँकी काम सम्पन्न गर्न म सम्बन्धित पक्षलाई निर्देशन दिन्छु,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले अघिल्लो महिना आफूले काठमाडौं-नौबिसे सुरुङ मार्ग र बहूद्देश्यीय मरिन डाइभर्सन परियोजनाको ‘ब्रेक थ्रु’ गरेको स्मरण गर्दै उनले राष्ट्रिय प्राथमिकताका आयोजनाहरूको अनुगमन र जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट श्रव्य दृश्यका माध्यमबाट लिइरहेको जानकारी दिए। उक्त कार्यालयबाट आयोजना निर्माणमा देखिएको समस्या पहिचान गरी समाधानका निम्ति आवश्यक सहजीकरण हुँदै आएको उनले बताए। आगामी दिनमा यस्ता आयोजनाहरूको नियमित अनुगमन गरी कार्यतालिका नै बनाएर अगाडि बढ्ने सोच आफूले बनाएको उनले बताए।

‘मैले पटक-पटक भन्दै आएको छु, भौतिक विकासलाई व्यवस्थित गर्दै जाँदा मानवीय विकासका क्षेत्रमा पनि छिटो प्रगति गर्न सकिन्छ। यसलाई मैले नेपाल सुरुङ युगमा प्रवेश गरेको विम्बद्वारा विकास र समृद्धिको यात्रामा लामबद्ध हुन अपिलसमेत गर्दै आएको छु,’ उनले भने।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्रीले यस आयोजनाबाट उत्पादन हुने नौ सय मेगावाट विद्युत्सहित राष्ट्रिय प्रणालीको विद्युत् क्षमता चार हजार पाँच सय मेगावाट पुर्‍याइने बताए। ‘आगामी आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात गर्ने व्यवस्था मिलाउने, विद्युत् प्रसारण लाइन निर्माण र वितरणमा निजी क्षेत्रसमेत सहभागी हुने गरी कानुनी प्रबन्ध गर्ने, जलाशययुक्त आयोजनामा बाँध र विद्युत् गृह छुट्टाछुट्टै प्रवर्द्धकबाट निर्माण गर्नेगरी निजी क्षेत्रको लगानी आकर्षित गर्ने प्रावधान बजेटमा समेटिएको छ,’ प्रधानमन्त्रीले भने।

उनले यस वर्ष सुक्खायामको मागलाई पूर्ति गर्न बूढीगण्डकी, दूधकोशी र नलसिङ्गाड जलाशययुक्त जलविद्युत् आयोजना तथा नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजनाको निर्माण सुरु गर्ने, वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा घुन्सा र सिम्बुवा जलविद्युत् आयोजना निर्माण गरिने, माथिल्लो अरुण, जगदुल्ला, तामाकोशी पाँचौं, मोदी ए र चैनपुर-सेती जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु गर्ने, सुनकोशी-तेस्रो जलविद्युत् आयोजनाको विस्तृत अध्ययन गरी निर्माण प्रक्रिया अगाडि बढाइने जानकारी दिए।

दश हजार आठ सय मेगावाट क्षमताको कर्णाली-चिसापानी जलविद्युत् आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइनको सुरु गर्ने, शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न जीवाश्म ऊर्जालाई स्वच्छ एवं नवीकरणीय ऊर्जाले क्रमशः विस्थापन गर्ने, हरित हाइड्रोजन प्रवर्द्धन गर्न अनुसन्धान र विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिएको प्रधानमन्त्रीले बताए। उनले अरुण-३ जलविद्युत् परियोजनाको प्रसारण लाइन टावर प्याड निर्माणका लागि जग्गा प्राप्ति र स्थानीयसँग सहजीकरण गरी अवरोध हटाउने जिम्मेवारी पनि थपिएको बताए।

परियोजनाबाट पिडिएअनुसार प्रभावित परिवारलाई निःशुल्क विद्युत्, राजस्व र आयकर, स्थानीयका लागि शेयर, रोजगारी र तालिम, स्थानीय समुदायको विकास, प्रविधि हस्तान्तरण र सम्झौता अवधिपश्चात् चालु अवस्थामा नेपाल सरकारमा हस्तान्तरण हुने यो राष्ट्रिय प्राथमिकता प्राप्त परियोजना भएकाले तोकिएकै समयमा परियोजना सम्पन्न गर्न सबैको सहयोग आवश्यक भएकामा प्रधानमन्त्रीले जोड दिए। ‘तोकिएको मितिमा व्यावसायिक उत्पादन सुरु नभएमा वा कुनै कारणले उत्पादन ढिला हुन गएमा अनुमानित तथ्याङ्कअनुसार प्रतिदिन दुई करोड २७ लाख नेपाल सरकारलाई आर्थिक क्षति हुने भएकाले यसलाई गम्भीर रूपमा लिएर आवश्यक सहजीकरणका निम्ति स्थानीय तहमा क्रियाशील राजनीतिक दल, नागरिक समाज र स्थानीय जनसमुदायमा विशेष अनुरोध गर्दछु,’ उनले भने।

आयोजना प्रभावित स्थानीयहरूको मागका विषयमा आफू जानकार रहेको भन्दै प्रधानमन्त्रीले स्थानीय जनसमुदायको चासो सम्बोधन गर्न सरकार गम्भीर रहेको बताए। ‘सरकारको अनुरोध छ, विकास र समृद्धि देशको साझा लक्ष्य हो। ठूला परियोजनाहरू समयमै सम्पन्न हुँदा त्यसले राष्ट्रिय अर्थतन्त्रमा मात्रै योगदान पुग्दैन, स्थानीय साधन स्रोतको उपयोग, रोजगारी सृजना, स्थानीय विकासका क्षेत्रमा नयाँ-नयाँ अवसरहरूको सिर्जना र विकासको ढोकासमेत खुल्दछ। तसर्थ, विकासका काममा सहकार्य र सहजीकरणको बाटोबाट समाधान खोज्नु नै हामी सबैको साझा हित हुन जान्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

परियोजनालाई आवश्यक जग्गा प्राप्तिका साथै मुआब्जा वितरण समयमै सम्पन्न गरी सुरक्षा व्यवस्थालगायत आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेका परियोजना सम्बद्ध सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिँदै परियोजनालाई पूर्णरुपमा सम्पन्न गर्न आ-आफ्नो क्षेत्रबाट दत्तचित्त भएर काम गर्न प्रधानमन्त्रीले निर्देशन दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्