वातावरण सुधारका गतिविधिहरू प्रवर्द्धनमा एकजुट होऔं : राष्ट्रपति

Ramchandra_Paudel
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले वातावरण संरक्षणको साझा लक्ष्यमा एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्। विश्व वातावरण दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले प्रकृतिमुखी जीवनशैलीका लागि वातावरण तथा प्रकृतिबीचको सम्बन्धलाई दिगो बनाउनेतर्फ ध्यान दिन आवश्यक रहेको बताएका हुन्।

‘नेपालले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्नका लागि आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास लिएको छु,’ सन्देशमा उनले भनेका छन्, ‘प्रकृतिमुखी जीवनशैलीका लागि वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई कसरी दिगो बनाउने भन्नेतर्फ सबैको ध्यान जानुपर्ने आवश्यकता महसुस भएको हुँदा वातावरण सुधारका गतिविधिहरू प्रवर्द्धन गर्न सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरू एकजुट भई लाग्नुहुनेछ भन्ने अपेक्षा लिएको छु।’

राष्ट्रपति पौडेलले मुलुकमा पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्नुपर्ने बताएका छन्। उनले मानिसले प्राकृतिक स्रोतको अधिक दोहन गरेका कारण पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको उल्लेख गरेका छन्। पारिस्थितिकीय प्रणालीमा सन्तुलन कायम राख्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्नुपर्नेमा सबैले जोड दिनुपर्ने उनको भनाई छ।

‘वातावरण संरक्षण तथा सुधारका लागि नेपालले अवलम्बन गरेको राष्ट्रियस्तरका वन, वातावरण तथा जलवायु परिवर्तन नीतिहरूबाट निर्देशित विभिन्न कार्यक्रमले वन तथा वातावरणको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘मानिसले प्राकृतिक स्रोतको अधिक दोहन गरेका कारण हामी वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको छ, त्यसलाई पुनः स्थापित गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न म सबैमा हार्दिक आह्वान गर्दछु।’

विज्ञानको नवीनतम विकासको उदाहरणस्वरुप उत्पादन भएको प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहर वर्तमान समयको एक प्रमुख वातावरणीय चुनौती बन्न पुगेको र विकास तथा वातावरण एकापसका प्रतिद्वन्द्वी नभई परिपूरक भएको राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ। दिगो विकासको अवधारणाबमोजिम नै सरकारले सञ्चालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई सम्बोधन गर्नुपर्ने व्यवस्था वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले गरेको उनले बताए।

राष्ट्रपति पौडेलले आजको दिन सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सुधार गर्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनको रूपमा लिएको सन्देशमा उल्लेख गरेका छन्। संयुक्त राष्ट्र संघले आह्वान गरेबमोजिम प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो। यस वर्ष ‘हाम्रो भूमि, हाम्रो भविष्य’ राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस मनाइँदै छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्