बजेटमा जे लेखे पनि हुन्छ भन्ने मानसिकता बढ्यो : गगन थापा

Gagan_Thapa
लोकपाटी न्यूज

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन थापाले सरकारबाट प्रस्तुत भएको बजेट वास्तविक धरातलमा नआएको जिकिर गरेका छन्। प्रतिनिधिसभा बुधबारको बैठकमा आउँदो आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा उनले बजेट वक्तव्यमा आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार नरहेको बताएका हुन्।

उनले ६ प्रतिशत आर्थिक वृद्धि हुने आधार के भन्दै प्रतिप्रश्न गरे। ‘आगामी आवमा ६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ, तर केही विकास साझेदार निकायले चार प्रतिशत मात्रै आर्थिक वृद्धिदरको प्रक्षेपण गरिरहेको अवस्थामा अर्थमन्त्री पुनले के आधारमा ६ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राख्नुभएको हो ?,’ सांसद थापाले भने।

उनले अर्थमन्त्रीमा बजेटमा जे लेखे पनि हुन्छ भन्ने मानसिकता बोकेर आएको टिप्पणी गरे। बजेटमा कार्यान्वयनमा हुन नसक्ने र जवाफ दिनु नपर्ने मानसिकता बोकेर नआएको दाबी गरे। थापाले भने, ‘यहाँ जे लेखे पनि हुन्छ, माइ वाप छैन भन्ने मानसिकता देखिएको छ। वास्तविकतामा आधारित छैन। यो वर्ष ३ अर्ब वैदेशिक सहयोग आएको छ। तर बजेटमा ५२ अर्ब आउने दाबी गरिएको छ।’

बजारमा मागको कमी भएको र आर्थिक अवस्था संकटमा रहेको उल्लेख गर्दै उनले यसले आर्थिक वृद्धिमा चुनौती थपिने बताए। ‘हाम्रो खर्च बढिरहेको छ, मध्यम वर्गीय व्यक्ति उच्च करको मारमा परिरहेका छन्, कुनै नयाँ क्षेत्रमा लगानी गर्दा कर बढी तिर्नुपर्दा बैंकमा नै रकम थुप्रिएको छ,’ उनले भने, ‘आर्थिक संकट भइरहेको छ। सामान्य करका दर बढाउँदैमा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन।’

पूर्वाधार विकासमा आवश्यक लगानी हुन नसक्दा विकासका आयोजना नै अधुरा रहेको सांसद थापाको भनाइ छ। खर्चको गुणस्तर र पूर्वाधार निर्माणपछि गुणस्तरीय पक्षलाई पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए। ‘आगामी आर्थिक वर्षमा सिक्टा आयोजनाका लागि तीन अर्ब रकम माग भएकामा एक अर्ब ६० करोड विनियोजन भएको छ, अव यो आयोजना बन्न वर्षौं लाग्छ,’ उनले भने, ‘सिँचाइ आयोजनामा लगानी घटाएर कृषि दशकको लक्ष्य हासिल गर्न सकिँदैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्