बजेटले लिएका लक्ष्यहरू सकारात्मक छन् : महेश बर्तौला

Mahesh_Bartaula
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सरकार ढल्ने आशंका नगर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले प्रतिपक्षी दलहरूले सरकार ढल्ने आशंका गरेको भन्दै त्यस्तो आशंका नगर्न आग्रह गरेका हुन्।

काँग्रेस महामन्त्री गगन थापाले धेरै आलोचना गर्दा फेरि बजेट काँग्रेसले नै काँध हाल्नुपर्ने अवस्था आउन सक्ने बताएपछि जवाफमा एमाले प्रमुख सचेतक बर्तौलाले सैद्धान्तिक रूपमा राखेका सुझावका आधारमा बजेट नै पास हुँदैन कि, सरकार ढल्छ कि भन्ने आशंका नगर्न आग्रह गरे।

‘म भन्न चाहन्छु- यो सत्ता समीकरण त्यति कमजोर डोरीबाट बनेको छैन,’ उनले अगाडि भने, ‘… माननीयज्यूहरूले पशुपतिमा जुन प्रकारले धूप-अक्षता गरेर यो सरकार आजै ढलोस्, भोलि ढलोस् जे चाहिरहनुभएको छ। सामान्य केही सुझाव राख्ने बित्तिकै ढलिहाल्छ भने कोणबाट, अन्तिममा मेरै काँधमा आइहाल्छ भन्ने जे आशंका गर्नुभएको छ। त्यहाँसम्म पुग्ने परिस्थिति छैन।’

सांसद बर्तौलाले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिए। उनले कृषिमा लगानी दशक, पाँच लाख सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण, प्रधानमन्त्री आत्मनिर्भर छोरी कार्यक्रम आगामी आवका सकारात्मक कार्यक्रम रहेको भन्दै प्रभावकारी कार्यान्वयनमा जुट्नुपर्ने सुझाव दिए।

‘आगामी आवको बजेट वक्तव्यमा अर्थमन्त्री वर्षमान पुनले कृषि दशक घोषणा गर्नुभएको छ। कृषि उत्पादन बढाउने अन्य योजना नबनाए यो लक्ष्य कार्यान्वयन हुन गाह्रो छ,’ उनले भने, ‘मुलुकका विभिन्न स्थानमा खेती बाँझो छन्। बाँझो खेत प्रयोग गर्नका लागि हरेक स्थानीय तहलाई ‘बाँझो मुक्त पालिका’ घोषणा गर्न र किसानलाई समयमा मल उपलब्ध गराउन आवश्यक छ।’

सांसद बर्तौलाले आगामी आवमा लिइएको लक्ष्यहरू सकारात्मक भए पनि सही रुपमा कार्यान्वयन गर्ने सवालमा अध्ययन तथा अनुसन्धान गर्न आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्