धेरै पर्यटक भित्र्याउन नयाँ गन्तव्य पहिचान गर्ने कार्य भएको छ : पर्यटन मन्त्री तामाङ

Hitbahadur-tamang-pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले धेरै पर्यटक भित्र्याउन नयाँ गन्तव्य खोजिने कार्य भइरहेको बताएका छन्। बिहीबार काठमाडौँमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको ४५ औँ वार्षिक साधारणलाई सम्बोधन गर्दै मन्त्री तामाङले सो कुरा बताएका हुन्।

यस वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरिरहेको बताउँदै उनले सरकार र निजी क्षेत्रको सहकार्यमा मात्र पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राखे। सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएको र सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको मन्त्री तामाङको भनाई छ।

उनले निजी क्षेत्रसँग सहकार्य गरेर इको हिल स्टेसन सञ्चालन गर्न सरकारले तयारी गरिरहेको बताउँदै गर्मी छल्न विशेष गरी नेपालका तराईका बासिन्दा र भारतीय पर्यटकका लागि आफ्नो रोजाई अनुसारको मज्जा लिएर रमाउन सकिने धारणा राखे। कयौँ मनमोहक बनाउने सुन्दर ताल र हिमशृङ्खलाहरू नेपालमा रहेको भन्दै उनले शान्तिको प्रतीक भगवान् गौतम बुद्ध (लुम्बिनी),पशुपतिनाथ,मुक्तिनाथ लगायत कयौँ धार्मिक स्थल पर्यटनको राम्रो गन्तव्य हुनसक्ने धारणा राखे।

सरकारले यस क्षेत्रको विकासको लागि पहिले लगाउँदै आएको भ्याट र केही कर हटाउने काम भइरहेको र यसले सस्तोमा पर्यटक नेपालमा धेरै समय बस्न प्रोत्साहित हुने विश्वास सरकारले लिएको उनको भनाई छ। विश्व पर्यटन बजारमा नेपाल घुम्नै पर्ने सूचिमा पर्ने हुँदा अब पुरानो गन्तव्य मात्र नभई पर्यटनको राम्रो सम्भावना देखिएको नयाँ गन्तव्यमा पूर्वाधार निर्माणको काम सुरु भैसकेको उनले बताए।

उनले भने यहाँको प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक सङ्ख्यामा अझ बढोत्तरी गर्नुपर्ने अवस्था रहेको छ। पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने हुँदा यस क्षेत्रमा काम गर्दै आइरहेका संस्थासँग सहकार्य गरेर सरकारले काम गर्ने उनले बताए।

काठमाडौँमा दुई दिनसम्म चलेको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको ४५ औँ वार्षिक साधारणबाट नयाँ कार्यसमिति चयन भएको छ। बिहीबार भएको सभाले खेमराज लखाईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ भने उनीहरूको कार्यकाल २ वर्षको हुनेछ। पाटाले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय स्तरको हिमालयन ट्राभल मार्ट नेपालमै गर्दै आएको छ। यस ट्राभल प्रदर्शनीमा करिब ४०-४५ देशहरूले भाग लिने गरेका छन्। यस कार्यक्रममा विदेशी पर्यटन विज्ञ स्रोत व्यक्तिहरू समेत नेपाल आएका थिए।