नैतिक अधिकारको सम्मान गर्ने संस्कारले लोकतन्त्रलाई सुदृढ बनाउँछ : राष्ट्रपति

Ramchandra_Paudel
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक मूल्य मान्यताको सुनिश्चितताका लागि संसद्को नेतृत्वकर्ताको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्। राष्ट्रपति कार्यालयमा आज आयोजित एक कार्यक्रममा उनले संसद्को नेतृत्वकर्ता सधैँ तटस्थ भूमिकामा रहनुपर्ने सुझाव दिए।

राजनीतिक दलहरूले पनि संसद्को नेतृत्वप्रति पूर्वाग्रह राख्न नहुने उनको भनाई थियो। राष्ट्रपति पौडेलले संसद्को काम सरकार र कानुन निर्माण, जनसरोकारका मुद्दाहरूको सम्बोधन, नागरिक अधिकारहरूको संरक्षण, लोकतान्त्रिक मूल्य मान्यताको सुनिश्चितता र सरकारमाथि निगरानी गर्ने बताए।

‘हाम्रो संविधानले विधायीकी अधिकार संघ, प्रदेश र स्थानीय तहमा विभाजन गरेको छ, विधायीकी जिम्मेवारी निकै गहन र बहत् हुन्छ भन्नेमा हामीहरू जानकार नै छौं। त्यसैले तिनको परिपालना गर्न सबै गम्भीर बन्न आवश्यक छ,’ उनले भने। राष्ट्रपति पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि नैतिक अधिकारको सम्मान गर्ने संस्कार आवश्यक रहेको पनि बताए।

उनले नैतिक अधिकारको सम्मान गर्ने संस्कारले नै लोकतन्त्रलाई थप सुदृढ बनाउन बल पुग्ने बताए। राष्ट्रपति पौडेलले भने, ‘मोरल अथोरिटीको सम्मान गर्ने संस्कार जति विकास हुन्छ, त्यति नै लोकतन्त्र सुदृढ हुँदै जाने हो। तर हामीकहाँ ‘मोरल अथोरिटी’को सम्मान गर्ने संस्कार बसिसकेको छैन।’

उनले राजनीतिक दलहरूको भूमिका जनताप्रति उत्तरदायी हुनुपर्ने बताउँदै निश्चित सीमा र मर्यादामा रहेर दलहरूले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। ‘अति दलबन्दीले कहिलेकाहीँ अप्ठेरो पार्छ, यसले निमुखाको न्याय मार्छ, त्यसैले निश्चित सीमा र मर्यादामा रहेर मात्र दलहरूले भूमिका निर्वाह गर्नुपर्दछ,’ राष्ट्रपति पौडेलले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्