सूचना प्रविधि विधेयकलाई अघि बढाउन सरकार प्रयत्नरत छ : मन्त्री शर्मा

Rekha_Sharma
लोकपाटी न्यूज

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सरकारले आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा हेरेको बताएकी छन्। ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ अन्तर्गत आज यहाँ आयोजित ‘पावर संवाद’ सत्रमा मन्त्री शर्माले भनिन्, ‘सरकार डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमार्फत आम नागरिकको जीवनस्तर उकास्ने र आर्थिक समृद्धि हासिल गर्ने अभियानमा केन्द्रित छ।’

उनले सूचना प्रविधि (आइटी) क्षेत्रको विकासका लागि नीतिगत र संरचनात्मक व्यवस्था गरिएको बताइन्। उनले आइटीसम्बन्धी विधेयक तथा डिजिटल पूर्वाधारका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने क्रममा रहेको बताइन्। आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता दिई सूचना प्रविधि दशक घोषणा गरिएको जानकारी दिँदै मन्त्री शर्माले उक्त अवधिमा आइटी क्षेत्रमा पाँच लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गरिने जानकारी दिइन्।

‘सूचना प्रविधि क्षेत्रसम्बन्धी नीतिगत तथा कानुनी एवं संरचनात्मक व्यवस्थाका लागि सरकार आक्रामकरुपमा अघि बढेको छ,’ उनले भनिन्। सूचना प्रविधि क्षेत्रको विकासका लागि कानुनी व्यवधान रहेको महसुस गरी सरकारले नीतिगत तथा कानुनी सुधार गर्न लागेको मन्त्री शर्माको भनाइ छ।

‘मुलुकमा पहिलो पटक साइबर सुरक्षा केन्द्र स्थापना गरिएको छ, आइटी नीति पारित भइसकेको छ। सूचना प्रविधि विधेयकलाई जतिसक्दो चाँडो अघि बढाउनुपर्छ भनेर सरकार प्रयत्नरत छ,’ उनले भनिन्। निजी क्षेत्रसँगको छलफलका आधारमा आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा आइटीसँग सम्बन्धित विषय समावेश गरिएको जानकारी दिँदै मन्त्री शर्माले सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै सूचना प्रविधिको लक्ष्य हासिल गर्न सकिने बताइन्।

‘बजेटमा घोषणा गरिएको सूचना प्रविधि दशकको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अघि बढ्नुपर्छ,’ मन्त्री शर्माले भनिन्, ‘आइटी दशकको प्रस्थान वर्षमा छौं। सरकार, निजी क्षेत्र र सरोकार भएका सबै एक ठाउँमा आएर सहकार्य गर्दै अघि बढ्नुपर्छ।’ वर्तमान सरकार सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा दृढताका साथ अघि बढेको जनाउँदै उनले सुशासनको अभियानलाई सफल बनाउन सूचना प्रविधिको विकास र प्रयोग अनिवार्य भएको बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्