गाँजा खेतीबारे बहुआयामिक तरिकाले अध्ययन गर्छौं : उपप्रम लामिछाने

Rabi_Lamichhane
लोकपाटी न्यूज

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गाँजाको व्यावसायिक उत्पादनलाई अगाडि बढाउने विषयमा बहुआयामिक तरिकाले अध्ययन गरिने बताएका छन्। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले त्यसका लागि समिति बनाइने बताएका हुन्।

गाँजा खेतीको सम्भाव्यताबारेमा अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने उनले प्रतिबद्धता व्यक्त गरे। गाँजा खेतीको विषयमा पर्याप्त छलफल भइसकेकाले अब कुनै दुबिधा नरहेको गृहमन्त्री लामिछानेको भनाई छ।

उनले भने, ‘गाँजा खेतीको औषधिजन्य र व्यावसायिक प्रायोजनका लागि अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउँदैछौं। यी दुई विषय मात्र नभई गाँजासम्बन्धी बहुआयामिक तरिकाले अध्ययन गर्न सकियोस् भने एक महिनामा सम्भवतः अध्ययन समिति बनाउनेछौं।’

उनले गाँजासम्बन्धी कानुन बनाउँदा सामाजिक परिवेशलगायत नियमनको पाटोमा पनि जोड दिने बताए। गृहमन्त्री लामिछानेले लागुऔषध दुर्व्यसनीमा फसेका र लागुऔषध ओसारपसारमा लागेकालाई फरक तरिकाले हेरिने भन्दै यसबारेमा पनि अध्ययन भइरहेको जानकारी दिए।

‘कोही कानुनी अनभिज्ञताका कारणले पनि जेल बसेका छन्। जनचेतनाको अभावले पनि दुर्व्यसनी तथा ओसारपसारमा लागेका छन्। यसबारेमा पनि गहिरिएर अध्ययन गर्दैछौं,’ उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्