सहकारीको मुद्दालाई ढाकछोप गर्न सत्तारुढ गठबन्धन लाग्यो : नेता पौडेल

Pradip_Paudel
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले काँग्रेस जनताका चाहनालाई सम्बोधन गरेर अगाडि बढिरहेको बताएका छन्। काँग्रेस कामपा- ३ वडा कार्यसमितिद्वारा आज यहाँ आयोजित एक अन्तर्क्रिया कार्यक्रममा उनले काठमाडौंका जनता सचेत भएकाले सोहीअनुसार पार्टीले रणनीति बनाएर अगाडि बढ्नुपर्ने बताएका हुन्।

‘संगठनलाई सशक्त बनाउन जनसम्पर्क र जनताका चाहनालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने। नेता पौडेलले जनप्रतिनिधिको आवरणमा जनतालाई ठग्ने काम व्यापक रुपमा भइरहेको समेत बताए। उनले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै उनले नैतिकताको बोध नगरिने राजनीति काँग्रेसले अन्त्य गरेर छोड्ने बताए। उनले नेपाली काँग्रेसले संसदमा सहकारीको मुद्दा नउठाएको भए ७३ लाख जनता जोडिएको मुद्दालाई निर्णायक मोडमा पुर्‍याउन नसकिने स्थिति रहेको बताए।

सत्तालाई सम्पूर्णरुपमा दुरुपयोग गरेर यो मुद्दा उठ्न नदिन, गुपचुप गर्न, ढाकछोप गर्न, प्रमाण लुकाउन सम्पूर्णरुपमा अहिलेको सत्तारुढ गठबन्धन लागेको नेता पौडेलको आरोप लगाए। उनले गिरिबन्धु टी स्टेटका बारेमा अदालतले फैसला गरेकाले त्यसबारे काँग्रेसले कुरा उठाउँदै आएको बताए। गिरिबन्धु टी स्टेटका बारेमा सहकारी जस्तै कुरा उठाउन जरुरी भएको नेता पौडेलले बताए।