गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निजी एयरलाइन्सलाई ग्राउन्ड ह्याण्डलिंग गर्ने अनुमति दिन्छौँ : पर्यटन मन्त्री तामाङ

Hit -bahadur - tamang
लोकपाटी न्यूज

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हित बहादुर तामाङले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निजी एयरलाइन्सलाई ग्राउन्ड ह्याण्डलिंग (भूमिस्थ प्रबन्ध सेवा) गर्ने अनुमति दिने बताएका छन्।

मन्त्री तामाङले हाल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कमर्सियल ग्राउन्ड ह्याण्डलिंग सेवा प्रदान गर्न अनुमति पाएको नेपाल वायुसेवा निगमको ग्राउन्ड ह्याण्डलिंग सेवालाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय उडानका लागि अनुमति प्राप्त अन्य नेपाली वायुसेवा सञ्चालन संस्थाहरू (एयरलायन्सहरुले) यस विमानस्थललाई सञ्चालन आधार (operating Base) बनाई नियमित उडान सेवा सुरु गरेमा उनीहरूलाई सो अनुमति दिइने बताए।

शनिवार अठोट नेपालले नेपाल पर्यटन बोर्डको सभा हलमा (2nd National Tourism Convention and Photography Competition 2024) आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री तामाङले सो कुरा बताएका हुन्। उनले वायुसेवा सञ्चालन संस्थालाई व्यावसायिक ग्राउन्ड ह्याण्डलिंग सेवा प्रदान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ को नियम ५.२ बमोजिम प्रक्रिया सुरु गर्न प्राधिकरणलाई निर्देशन दिइएको बताए।

यस अघि नेपाल वायुसेवा निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कमर्सियल ग्राउन्ड ह्याण्डलिंग (भूमिस्थ प्रबन्ध सेवा) गर्ने अनुमति प्राप्त गरेको थियो। अब अन्तर्राष्ट्रिय उडानका लागि अनुमति प्राप्त अन्य नेपाली वायुसेवा सञ्चालन संस्थाहरू (एयरलायन्सहरुले) यस विमानस्थललाई सञ्चालन आधार (operating Base) बनाई नियमित उडान सेवा सुरु गरेमा उनीहरूलाई पनि कमर्सियल ग्राउन्ड ह्याण्डलिंग (भूमिस्थ प्रबन्ध सेवा) गर्ने अनुमति प्राप्त हुनेछ। वायुसेवा निगमले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय स्तरको भूमिस्थ प्रबन्ध सेवा दिँदै आएको छ।

मन्त्री तामाङले फोटो प्रदर्शनीमार्फत पर्यटन प्रवर्द्धन गर्ने कार्य एकदमै प्रशंसनीय रहेको बताउँदै नेपालमा पर्यटनको क्षेत्रमा सम्भावना र अवसर अत्यधिक रहेकाले विभिन्न माध्यमबाट अझ यसको प्रचारप्रसार गर्न आवश्यक रहेको औँल्याए। उनले फोटोग्राफिमार्फत् नेपालको पर्यटन गन्तव्यहरूको प्रवर्द्धन गर्न यसले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। पर्यटन क्षेत्रमा देखिएको समस्या हटाउन सरकार लागिरहेको बताउँदै उनले निजी क्षेत्रको सहकार्यमा मात्र त्यो सम्भव हुने दावी गरे।

मन्त्री तामाङले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि यस क्षेत्रमा अहिले पर्यटन व्यवसायीले भोगेको समस्या पर्यटन क्षेत्रको अनावश्यक भ्याट र करलगायत सुधार नगर्ने हो भने र नेपालमा आउने पर्यटकका लागि आगमन सहज र सरल नगर्ने हो भने पर्यटन क्षेत्रमा लक्ष्य अनुरूप सफलता पाउन कठिन हुने बताउनुहुँदै सरकार त्यसका लागि काम गरिरहेको बताए। उनले भने, ‘नेपाल सबै क्षेत्रमा सुन्दर छ तर पर्यटन क्षेत्रले देशको जिडिपीमा सोचेजस्तो योगदान दिन सकेको छैन।’

नेपालमा अधिकतम विदेशी पर्यटक ल्याउन नयाँ गन्तव्यको खोजी गरी पूर्वाधार विकाशसहित सरकार नयाँ योजनासहित अघि बढेको उनले बताए।विभिन्न देशका राजदूतहरूले आफूसँग भेट गर्दा विदेशमा आन्तरिक र बाह्य पर्यटकका लागि होटेलमा समान मूल्यमा सेवा दिने गरेको तर नेपालमा आन्तरिक र बाह्य पर्यटकका लागि होटेलमा विभेद गरिएको गुनासो गरेको भन्दै उनले त्यस समस्याको पहिचान गरी समाधानको बाटो खोजिने बताए। अर्को प्रसङ्गमा मन्त्री तामाङले पशुपतिमा आउने दर्शनार्थीहरुका लागि निःशुल्क भोजनको व्यवस्था गर्ने तयारी सरकारले गरिरहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्