विश्वकप खेल्न सन्दिप लामिछाने वेष्टइण्डिजमा

sandip lamichhane
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरूमा सहभागी हुने भएका छन्। सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू वेस्ट इन्डिज पुगेको जानकारी दिएका हुन्।

सन्दिपले लेखेका छन्, ‘मलाई अमेरिकाको भिसा प्राप्त गर्न सहयोग गरेकोमा सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, र नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिन चाहन्छु तर दुर्भाग्यवश त्यो सफल हुन सकेन,’ उनले भनेका छन्, ‘तर ती सबै कुरालाई पन्छाएर, म अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध छु र मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु।’

सन्दिपले थप लेखेका छन्, ‘मेरो सहयात्रालाई सम्भव बनाउनका लागि हाम्रा अध्यक्ष चतुरबहादुर चन्द सर, सचिव तथा मेरो प्यारो पारस खड्का दाइ, मेरो वकिल सरोज घिमिरे दाइ, विनोद दास दाइ र प्रबल दाइ र प्रिय बालकृष्ण दाइलाई हार्दिक धन्यवाद दिन चाहन्छु।’

चतुरबहादुर चन्द र पारस खड्काको छवि धुमिल बनाउने प्रयासबाट आफू दुःखी भएको पनि बताएका छन्। क्यान र नेपाली क्रिकेटको छवि खराब गर्ने प्रोपोगान्डाको पछि नलाग्न पनि उनले आग्रह गरेका छन्।

सन्दिपले वेष्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन्। विश्वकप क्रिकेट २०२४ का खेलहरू अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन्। नेपाली राष्ट्रिय टोलीका अरु सदस्यहरु अमेरिका गएर खेलिरहे पनि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन।

यसअघि नेपालले पहिलो खेल अमेरिकाको डालसमा नेदरल्याण्ड्ससँग खेलेको थियो भने दोस्रो खेल बुधबार बिहान न्यूयोर्कमा श्रीलंकासँग खेल्दैछ। त्यसपछि थप दुई खेलका लागि नेपाल वेष्टइन्डिज जानेछ।