जसपा नेपालले रोक्यो निर्वाचन प्रक्रिया

Upendra Yadav
लोकपाटी न्यूज

जनकपुरधाम।  जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया रोकिएको छ। अध्यक्ष उपेन्द्र यादव बुधबार नै अध्यक्षमा सर्वसम्मत भइसकेको अवस्थामा निर्वाचन समितिले अन्य पदमा प्रक्रिया अघि बढाएको थियो।

तर अब अध्यक्षसहित केन्द्रीय पदाधिकारी र सदस्यहरूसमेत सबैजना सहमतिबाटै टुंगो लगाउने तयारीअनुसार बिहीबार दिउँसो निर्वाचनका सबै कार्यक्रम रोकिएको हो ।

बुधबार नै प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ताको सूची सार्वजनिक गरिएको जसपा महाधिवेशनका क्रममा बिहीबार निर्वाचन प्रक्रिया रोकेर सहमतिबाट पदाधिकारी र केन्द्रीय सदस्य छान्ने पक्रिया थालिएको हो ।

महाधिवेशनअन्तर्गत निर्वाचन समितिले अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । एउटा सह-अध्यक्षका लागि लालबाबु राउत, रकम चेम्जोङ र राजकिशोर यादवले उम्मेदवारी दिएका थिए । तर सह(अध्यक्षसहित सबै पद सहमतिमा टुंगो गरिने भएको छ ।

‘जसपा महाधिवेशनमा १ बजेदेखि निर्वाचन कार्यक्रम रोकिएको छ। निर्वाचनमा नगएर सहमतिमा जाने भनेर निर्वाचन प्रक्रिया रोकिएको हो’, अध्यक्ष यादवका प्रेस सल्लाहकार महेश चौरसियाले भने, ‘पार्टी अप्ठेरोमा रहेका बेला सहमतिको बाटो रोजिएको हो। नयाँ नेतृत्व छान्न भोट नै हाल्ने भनिएको थियो। तर अब पदाधिकारीदेखि केन्द्रीय सदस्यहरू पनि सहमतिमा आउनेछन्। अध्यक्षले जाति, लिङ्ग र क्षेत्र सबै हेरेर निर्णय लिनु हुनेछ।’

महाधिवेशनले नयाँ नेतृत्वका पदाधिकारी र केन्द्रीय सदस्य चयनको जिम्ममा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ। अब यादवको नेतृत्वको पदाधिकारीहरूको टिमले सबैको टुंगो लगाउने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्