राष्ट्रिय शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको छ : अध्यक्ष ओली

KP Sharma Oli
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय शक्तिलाई कमजोर पार्न प्रतिक्रियावादीहरू लागि परेको बताएका छन्। उनले राष्ट्रिय शक्तिलाई कमजोर पार्ने प्रयासस्वरूप फैलाएका गलत हल्ला चिर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए।

‘प्रतिक्रियावादीहरूले देश अगाडि नबढोस् भनेर राष्ट्रिय शक्तिलाई कमजोर पार्न चाहन्छन्,’ उनले भने, ‘भ्रमको जालो फिँजाउन, आस्था हटाउने र जनविश्वास कसरी कमजोर बनाउन सकिन्छ भनेर एमालेविरुद्ध लागिपरेका छन्। त्यसलाई चिर्दै अगाडि बढ्नुपर्छ।’

अध्यक्ष ओलीले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटबारे समीक्षा हुन आवश्यक रहेको बताए। नयाँ बानेश्वरस्थित संसद् भवनमा एमाले संसदीय दलको बैठकमा उनले पार्टीले चलाइरहेका मन्त्रालयको बजेट विनियोजनको स्थिति पनि हेर्नुपर्ने बताए। उनले देशलाई गरिबी हुनबाट बचाउनका लागि एमाले सरकारमा गएकाले बजेट कति ठीक र कति बेठीक भन्नेबारे छलफल हुनुपर्ने धारणा राखे।

उनले दिगो विकास लक्ष्य पाँच वर्षभित्र पूरा गर्नुपर्ने भन्दै मुलुकको विकास र गरिबी घटाउन उत्पादकत्व वृद्धिमा जोड दिनुपर्ने धारणा राखे। देश बनाउने संकल्प, अठोटसहित उद्यमशीलता बढाउन प्रविधिको प्रयोग गर्नुपर्ने उनको भनाए थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्