जी-७ को वक्तव्य ‘अहंकार, पूर्वाग्रह र झूटले भरिएको’ चीनको दाबी

China_Flag
लोकपाटी न्यूज

एजेन्सी। आर्थिक शक्तिराष्ट्रहरूको समूह (जी-७) का नेताहरूले रूसमा हतियार नपठाउन चीनलाई चेतावनी दिएपछि बेइजिङले सोमबार यस सम्बन्धमा प्रतिक्रिया जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सोमबार जवाफमा उक्त वक्तव्यले ‘चीनमाथि निन्दा र आक्रमण’ गरेको बताए। नियमित पत्रकार भेटघाटमा उनले भने, ‘यसमा कुनै तथ्यगत, कानुनी आधार छैन, साथै यसको नैतिक औचित्य छैन र भनाइ अहंकार, पूर्वाग्रह र झूटले भरिएको छ।’

गत साता इटालीमा भएको जी-७ का नेताहरूको बैठकमा बेइजिङसँगको तिक्ततापूर्ण व्यापारिक सम्बन्धका साथै युक्रेन र दक्षिण चीन सागरको तनावलाई लिएर छलफल भएको थियो। शिखर सम्मेलनको अन्त्यमा जारी विज्ञप्तिमा भनिएको छ, ‘चीनले युक्रेनमा रूसी युद्धलाई सहयोग पुर्‍याइरहेको र चीनले रूसलाई दोहोरो प्रयोग गर्ने युद्ध सामग्रीहरू पठाइरहेको छ।’

गत वर्षको शिखर सम्मेलनको तुलनामा कडा भाषा प्रयोग गर्दै जी-७ को वक्तव्यमा दक्षिण चीन सागरमा चीनको ‘सैन्यीकरण, बलजफ्ती र धम्कीपूर्ण गतिविधि’को पनि आलोचना गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्