जलजला गाउँपालिकाले ल्यायो ५० करोड ४ लाख रुपैयाँको बजेट

लोकपाटी न्यूज

पर्वत। जलजला गाउँपालिकाले आर्थिक वर्ष ०८१/८२ का लागि ५० करोड ४ लाख १३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार गाउँसभाको १७ औँ गाउँ अधिवेशनमा गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपाध्यक्ष दीपक आचार्यले बजेट प्रस्तुत गरेका हुन्।

बजेटमा संघ/प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण/ विशेष अनुदान, सशर्त अनुदान, राजश्व बाँडफाँड र पालिकाको आन्तरिक आयलाई समावेश गरिएको उपाध्यक्ष आचार्यले बताएका छन्। बजेटमा संघीय सरकारको ४३ करोड १९ लाख तीन हजार, प्रदेश सरकारको दुई करोड ८२ लाख ७२ हजार, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने चार करोड दुई लाख ३८ हजार रुपियाँलाई बजेटको स्रोत मानिएको छ।

प्रस्तावित व्ययतर्फ संघीय, प्रदेश सशर्त अनुदान, संघ, प्रदेश समपूरक अनुदानतर्फ २८ करोड १५ लाख ३ हजार, गाउँपालिकास्तरीय एवं वडा पूर्वाधार विकासतर्फको पुँजीगत तर्फ २६ करोड १ लाख र कार्यालय सञ्चालन, कर्मचारी पारिश्रमिक तथा पदाधिकारी सेवा सुविधासमेत चालु खर्चतर्फ ९ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ।

बजेट सार्वजनिक हुनुअघि गाउँपालिका अध्यक्ष आचार्यले प्रस्तुत गरेको सुशासनसम्बन्धी कार्यविधि, आर्थिक ऐन, वार्षिक प्रतिवेदन तथा आव २०८१/८२ को बजेट कार्यान्वयन गर्ने कार्यदेशसहितको नीति तथा कार्यक्रम पेश गरेका थिए। गाउँपालिका अध्यक्ष आचार्यले सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमसमेत सबै विधेयक र प्रतिवेदनहरू सभाबाट सर्वसम्मतरुपमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्