प्रधानमन्त्री रोजगार कार्यक्रमको नयाँ ‘मोडालिटी’ ल्याउँदैछौं : मन्त्री अर्याल

Dol_Prasad_Aryal
लोकपाटी न्यूज

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमको नयाँ ‘मोडालिटी’ ल्याउन गृहकार्य भइरहेको बताएका छन्।

उनले भने, ‘यो कार्यक्रमबारे पुनः विचार गर्नुपर्छ भनेर काम भइरहेको छ। कम्तीमा यो कार्यक्रमले सीप विकास र उद्यमशीलतासँग जोड्न सक्नुपर्छ।’ राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा बोल्दै उनले श्रम स्वीकृतिमा बेथिति देखिएकाले एक घण्टामै श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताए।

‘वैदेशिक रोजगारीमा जाने सोझा नागरिक आफ्नो सम्पत्ति बेचेर गइरहेका हुन्छन्। उनीहरूलाई बिचौलियाले ठग्ने गरेको छ। ठग्ने प्रवृत्ति अन्त्य गर्न यो निर्णय गर्‍यौं। ‘फ्रि भिसा फ्रि टिकट’ मा पनि ब्रहमलुट छ। यसको नीतिमा पनि काम गरिरहेका छौं,’ मन्त्री अर्यालले भने।

उनले आन्तरिक रोजगारी सिर्जना गर्ने काममा मन्त्रालय गम्भीर रहेको बताउँदै भने, ‘विदेश जानेलाई रोक्न सकिँदैन तर फर्किएकालाई मात्रै रोक्न सके त्यो ठूलो कुरा हुनेछ। फर्केकालाई व्यवस्थापन गर्न कार्यक्रम ल्याउँदैछौं।’