बजेटमा उत्पादन र रोजगारीसँग जोड्ने कार्यक्रम समावेश छन् : अर्थमन्त्री

Barsaman_pun
लोकपाटी न्यूज

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले श्रमप्रतिको सम्मान, उत्पादनमा आत्मनिर्भरता र स्वभिमानी नेता तथा कार्यकर्ताले मात्रै देशलाई अघि बढाउन सक्ने बताएका छन्।

नेकपा माओवादी केन्द्र अछाम-काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो भेलामा आज अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमा उत्पादन र रोजगारीसँग जोड्ने खालका कार्यक्रम समावेश गरिएको पनि जानकारी दिए। उनले त्यसका लागि केही बजेट विनियोजन भएको बताए।

उनले उत्पादन वृद्धि केही मान्छे धनी बन्नका लागि नभई समानता र सामाजिक न्यायका आधारमा विकास गर्नका लागि भएको पनि बताए। उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गरेमात्रै समानता र सामाजिक न्याय प्राप्त गर्न सकिने बताए।

मन्त्री पुनले कृषि, पर्यटन जलविद्युत, सूचना प्रविधि र उत्पादन यी पाँच क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको जानकारी दिँदै सातै प्रदेशलाई विशेष प्राथमिकता दिइएको उल्लेख गरे। एक प्रदेशमा एउटा विशेषतालाई प्राथमिकता दिएर कार्यक्रम अघि सारिएको पनि उनले बताए।