पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रष्टता र प्रतिबद्धताको आवश्यकता छ : महामन्त्री थापा

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनसम्म काँग्रेस सरकारमा जान नहुने धारणा व्यक्त गरेका छन्। नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ६ प्रदेश (१)ले आज यहाँ आयोजना गरेको ‘दोस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन, २०८१’को उद्घाटन गर्दै उनले काँग्रेस प्रतिपक्षमै बसेर सरकार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

‘पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रष्टता र प्रतिबद्धताको आवश्यकता छ, यसलाई पूर्णरुपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा काँग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्‍याउन सकिन्छ,’ उनले भने।

महामन्त्री थापाले यही असारभित्र महासमिति बैठक बसेर पार्टीलाई अगाडि बढाउनेबारे बृहत् छलफल गरिने बताए। उनले निर्वाचनमा पार्टीको उम्मेदवार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे। ‘निर्वाचनका लागि उम्मेदवार छान्न पार्टीभित्रका क्रियाशील सदस्यले भोट गर्ने व्यवस्था बनाउनुपर्छ,’ उनले भने।

उनले पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध भएका कारण बिस २०४८ सालमा काँग्रेस एक्लैले बहुमत प्राप्त गरेको स्मरण गरे। पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको उनको भनाइ थियो। महामन्त्री थापाले केन्द्रमा काँग्रेसको सरकार नभएपनि तीन सय ३२ स्थानीय तहमा काँग्रेसको सरकार भएकाले जनताका लागि काम गर्न आग्रह गरे। ‘काँग्रेस केन्द्रमा प्रतिपक्षमा छ, हामी प्रतिपक्षमै बस्नुपर्छ, सरकारलाई ठीक ठाउँमा उभ्याउने काम काँग्रेसको हो,’ उनले भने।

उनले आगामी निर्वाचनअघि संविधानमा भएका केही कुराहरू संशोधन गरेर अगाडि बढ्नुपर्ने धारणा राखे। ‘प्रदेशहरू अदालतबाट चल्दै आएको अवस्था छ, प्रदेश र केन्द्रका मन्त्रीहरू घटाउनुपर्छ, संविधानमा संशोधन गरेर अगाडि बढ्नुपर्छ,’ महामन्त्री थापाले बताए। उनले नेता तथा कार्यकर्तालाई नागरिकसँग जोड्ने कार्यक्रम ल्याउनुपर्ने उल्लेख गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्