सरकारको दोहोरो चरित्रले चुरे विनाश हुँदै गयो : सांसद पौडेल

Pradip_Poudel
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेस सांसद प्रदीप पौडेलले चुरे संरक्षणका निम्ति विशेष योजना ल्याउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले चुरेको संरक्षणका लागि बृहत् वृक्षा रोपण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन्।

नेता पौडेलले दिवसका अवसरमा गमलामा बिरुवा रोपेर चुरेको संरक्षण नहुने बताए। उनले भने, ‘गमलामा बिरुवा रोपेर चुरेको संरक्षण हुँदैन। चुरे दिवसको दिनमा एउटा बिरुवा रोपेर चुरेको संरक्षण पनि हुन सक्दैन। यस कारण चुरेको संरक्षण गर्न बिरुवा रोप्ने अभियान सरकारले गर्नुपर्छ। सबै राजनीतिक दलका कार्यकर्ताले बिरुवा रोप्ने अभियान गर्न जरुरी छ। एकै दिनमा हजारौं बिरुवा रोप्न सकिन्छ। इलामदेखि कञ्चनपुरसम्म करोडौं बिरुवा रोप्न सक्यौं भने मात्रै चुरेको संरक्षण हुनसक्छ।’

नेता पौडेले सरकारले चुरे संरक्षणको विषयलाई गम्भीररुपले लिनुपर्ने बताए। वन तथा वातावरण मन्त्रालयले यसलाई विशेष ढंगबाट अगाडि बढाउन जरुरी रहेको उनको भनाइ छ। उनले सरकारको दोहोरो चरित्रले चुरे विनाश हुँदै गएको आरोप लगाए।

‘प्रधानमन्त्री स्वयंले चुरे अतिक्रमणमा परेको छ। दोहनका कारण चुरै विनाश भएको हो भनेर स्वीकार गरिसक्नु भएको छ,’ उनले भने, ‘दोहनलाई टुलुटुलु हेरेर बस्न मिल्दैन। सरकारको यस्तो दोहोरो चरित्रले चुरे संरक्षण हुन सक्दैन। यसैले चुरे संरक्षणको कानुनी आधार निर्माण गरेर लागू गरियोस्।’ जिम्मेवारी लिएर बसेकाहरू गम्भीर नभइदिँदा चुरे दोहनको चपेटामा परेको उनको दाबी छ।

चुरे संरक्षणका निम्ति माइतीघरमा आन्दोलन गरिरहेकाहरूको आवाज सुनिदिन समेत सरकारसँग आग्रह गरे। ‘चुरे संरक्षणको मागलाई लिएर लामो समयदेखि माइतीघरमा आन्दोलन भइरहेको छ। त्यहाँ सरकारको तर्फबाट उपस्थित भएको छैन। उनीहरूलाई भेटेर उनीहरूले राखेका जायज मागहरूलाई सरकारले छिटो सुनोस्।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्