सीआईबी गिरीबन्धु टी इस्टेटको उजुरी पर्खेर बसेको छ : गृहमन्त्री

Rabi_lamichhane
लोकपाटी न्यूज

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो गिरिबन्धु टिस्टेटको उजुरी कुरेर बसेको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा उनले उजुरी आएपछि कुनैपनि बेला यस सम्बन्धमा अनुसन्धान गर्न प्रहरी तयार रहेको बताएका हुन्।

गिरिबन्धु टि स्टेटका बारेमा उजुरी माग्नको निमित्त मन्त्रालयले स्पष्ट निर्देशन दिइसकेको उनले बताए। कुनै पनि समय भएका विभिन्न कुनैपनि घटनाहरूका बारेमा अनुसन्धान गर्न प्रहरी तत्पर भएर बसेको गृहमन्त्री लामिछानेको भनाई छ। उनले कुनै पनि काण्डको फाइल खोल्न आफू नडराउने बताए।

उनले भने, ‘नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई गिरिबन्धु टि स्टेटका बारेमा उजुरी माग्नको निमित्त सदनमा कुरा उठ्नुभन्दा हप्ता दिन अगाडि नै मन्त्रालयले स्पष्ट निर्देशन दिइसकेको छ। र केन्द्रीय अनुसन्धान ब्युरो गिरिबन्धु टि स्टेटको उजुरीको प्रतीक्षा गरेर बसिरहेको छ। कुनै पनि समय, कुनै पनि बेलादेखि भएका विभिन्न किसिमका यी घटनाहरूका बारेमा नेपाल प्रहरी अनुसन्धान गर्न तत्पर भएर बसेको छ।’

गृहमन्त्री लामिछानेले बजेट पास भएको दुई महिनाभित्र विगतमा भएका २५ वटा काण्डहरूको फाइल तयार गर्नको निमित्त एउटा शक्तिशाली आयोग बनाउने बताए। उनले पतञ्जलि आयुर्वेद कम्पनीको फाइल आजैबाट खुलेको पनि जानकारी दिए। उनले भुटानी शरणार्थीको बन्द भएको फाइल खुल्ने तयारीमा रहेको बताए। बालमन्दिर र स्काउटको फाइल बन्द नभएको पनि उनले बताए। उनले बाँसबारीको फाइल बन्द नभएको र टिकापुरको फाइल खुलाउन काम भइरहेको पनि बताए।