वैदेशिक रोजगारीको बहानामा मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ

Arrest_Pakrau
लोकपाटी न्यूज

काठमाडौं। वैदेशिक रोजगारीको बहानामा दुबई पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरका ४२ वर्षीय मनोज महर्जन रहेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई शुक्रबार गौशालाबाट पक्राउ गरेको हो।

महर्जनले पीडितलाई आकर्षक तलबमा दुबईको टिस्यु पेपर प्याक गर्ने कम्पनीमा पटाइदिने प्रलोभन देखाई २ लाख ९० हजार रुपैयाँ लगेर गत फागुन ७ गते दुबई पुर्‍याएका थिए। त्यहाँ पीडितलाई घरेलु कामदारहरू पठाउने एजेन्टको अफिसमा लगेर बेचबिखन गरी शारीरिक तथा मानसिक यातना दिइएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

पीडितलाई ती एजेन्टले विना पारिश्रमिक दैनिक १८ देखि २० घण्टासम्म घरायसी काममा लगाएर चरम श्रम शोषण गरेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ। महर्जनले यसअघि पनि वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा ७ वर्ष कैद सजाय भुक्तान गरिसकेको समेत अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।

उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले उक्त विषयमा थप आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्