कम्युनिस्ट आन्दोलनमा विद्रोहको ज्वाला दन्काएका छौं : माधव नेपाल

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले कम्युनिष्ट आन्दोलनमा देखा परेका विकृति, विसंगतिका विरुद्धमा आफूहरूले विद्रोहको ज्वाला दन्काएको बताएका छन्। काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा अब नयाँ सांस्कृतिक जागरण पैदा गर्ने बेला आएको बताएका हुन्।

अध्यक्ष नेपालले समाजमा रहेका सबै गलत प्रवृत्तिका विरुद्धमा आफूहरू नयाँ सांस्कृतिक जागरण पैदा गर्न चाहिरहेको बताए। यस जागरण अभियानमा आफ्नो समूह एक्लै भए पनि अघि बढ्ने उनको भनाई छ। उनले आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाप्रति गौरववोध गर्नुपर्ने बताए।

अध्यक्ष नेपालले भनेका छन्, ‘हामीले जुन पहल गरेका छौं। विद्रोह गर्ने आँट गरेका छौं, कम्युनिष्ट आन्दोलनमा देखा परेका विकृति, विसंगतिका विरुद्धमा विद्रोहको ज्वाला दन्काएका छौं। एक्लै भए पनि अघि बढ्ने हिम्मत गरेका छौं। एक्ला चलो, एक्ला चलो, एक्ला चलो रे भन्दै हामी अघि बढ्यौं।’

उनले आफूहरू समाजलाई रूपान्तरण गर्न, समाजवादी दिशामा जान चाहेको बताए। उनले भनेका छन्, ‘हामी यो समाजलाई रूपान्तरण गर्न चाहन्छौं, समाजवादी दिशामा जान चाहन्छौं, त्यसका लागि समाजवादी संस्कृतिको विकास गर्न चाहन्छौं, पुँजीवादी संस्कृतिका विरुद्धमा समाजमा रहेका सबै विसङ्गति र विकृतिका विरुद्धमा व्यक्तिहरूमा रहेको व्यक्तिवाददेखि लिएर चरम महत्वकांक्षादेखि लिएर अनेकौं खालका त्यस्ता गलत प्रवृत्तिका विरुद्धमा हामी नयाँ सांस्कृतिक जागरण पैदा गर्न चाहन्छौं।’