दुर्व्यसनीमा फसेकालाई सुध्रन मौका दिइने छ, लागुऔषध त्यागेर समाज सुधारक बनौं : गृहमन्त्री

Rabi_Lamichhane
लोकपाटी न्यूज

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषध दुर्व्यसनीमा फसेकालाई दुर्व्यसनबाट बाहिर निस्केर समाज सुधारकको भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। गलत बाटोमा हिँडेर सही गन्तव्यमा पुग्न नसकिने बताउँदै उनले दुर्व्यसनीमा फसेकालाई सुध्रन मौका दिइने बताएका हुन्।

‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का सन्दर्भमा आज आयोजित कार्यक्रममा गृहमन्त्री लामिछानेले लागुऔषधको ओसारपसार र आपूर्तिकर्तालाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन दिए। उनले लागुऔषधको अवैध ओसारपसार र सेवन अन्त्यका लागि विशेष योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिए।

लागुऔषध दुर्व्यसनलाई अन्त्य गर्न सरकारले विभिन्न अभियान सञ्चालन गरेको भए पनि दुर्व्यसनीको सङ्ख्या बढ्दै जानुमा कहीँ न कहीँ कमजोरी भएको महसुस गरिएको उनले बताए। सीमित साधन स्रोतबीच सुरक्षा निकायले लागुऔषध दुर्व्यसनलाई अन्त्य गर्न खेलेको भूमिका प्रशंसनीय रहेको बताए। गृहमन्त्री लामिछानेले सुरक्षा निकायका लागि पर्याप्त बजेट तथा जनशक्तिको व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको बताए।

लागुऔषध दुर्व्यसन नियन्त्रणमा सरकार, समुदाय र आम नागरिकको उत्तिकै भूमिका रहेको उनले उल्लेख गरे। लागुऔषधको दलदलमा फसेका व्यक्तिलाई दुर्व्यसनको चक्रबाट मुक्त गरी समाजमा पुनः स्थापना गर्न सुधार केन्द्रको भूमिका प्रशंसनीय रहेको उनले बताए। ‘उपचार व्यापार नबनोस्, सुधार केन्द्रमा अमानवीय क्रियाकलाप नहोस्, लागुऔषधको नसामा डुबेका नागरिकलाई उपचारका नाममा महँगो शुल्क लिन पाइँदैन,’ उनले भने।