एकीकृत समाजवादीको अध्यक्षमा भुसाललाई खनालको साथ

लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले अध्यक्षमा महासचिव घनश्याम भुसाललाई अघि बढाउने भएका छन्। नेता खनालको निवास डल्लुमा बुधबार दिउँसो भएको भेटमा सहमतिमा नेतृत्व चयन हुने अवस्था नभए अध्यक्षमा भुसाललाई अघि बढाउने समझदारी भएको हो।

यदि सर्वसम्मत हुने अवस्थामा खनाल अध्यक्ष बन्ने गरी सहमति भएको बुझिएको छ। नेतृत्व चयनको विषयमा एकताबद्ध भएर अघि बढ्ने सहमति भएको स्रोतको भनाई छ। नेता खनाल यसअघि ‘जसको विचार, उसैको नेतृत्व’को पक्षमा रहँदै आएका थिए। तर, महाधिवेशनको सम्मुखमा आएर उनी अध्यक्षको दाबीबाट पछि हटेका छन्।

नेकपा एसका अध्यक्षमा माधवकुमार नेपालसहित झलनाथ खनाल र घनश्याम भुसालले अध्यक्षमा दाबी गर्दै आएका थिए। खनालपछि हटेसँगै उनको साथ भुसाललाई हुने भएको छ। ‘दुई नेताका बिचमा सहमतिबाटै अघि बढौँ भन्ने कुराकानी भयो। त्यसक्रममा खनालले भुसाललाई र भुसालले खनाललाई सहयोग गर्न आग्रह गर्नुभयो,’ स्रोतले भन्यो, ‘अन्तिममा खनालले तपाईँलाई अध्यक्षमा मेरो साथ रहन्छ भन्नुभयो र त्यसपछि दुवै जना हात मिलाएर छुट्नुभयो।’