ऊर्जा क्षेत्रमा गरिएको कामको परिणाम आजको भोलि नै आउँदैन : मन्त्री बस्नेत

Shakti_Basnet
लोकपाटी न्यूज

काठमाडौं। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजामती सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन सबैको सहयोग जरुरी रहेको बताएका छन्।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज ऊर्जा सचिव सुशीलचन्द्र तिवारीको बिदाइ समारोहमा उनले तर्कबाट भन्दा पनि सेवाबाट नै निजामती सेवाको मान, प्रतिष्ठा बढाउन कर्मचारी संयन्त्र लाग्नुपर्ने बताए। उमेर हदका कारण सचिव तिवारीले आजदेखि अवकाश पाएका छन्।

मन्त्री बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि मन्त्रालयले खेलेको भूमिका महत्त्वपूर्ण रहेको र त्यसमा सचिव तिवारीजस्तै राष्ट्र सेवकको महत्त्वपूर्ण योगदान रहेको बताए। उनले ऊर्जा क्षेत्रमा गरिएको कामको परिणाम आजको भोलि नआउने भएकाले आगामी दिनमा अपेक्षित नतिजा हासिल हुने स्पष्ट पारे।

मन्त्री बस्नेतले उमेर हदका कारण निजामती सेवाबाट अवकाश भए पनि उनको योग्यता, क्षमता र विज्ञता मुलुकले प्राप्त गर्ने विश्वास व्यक्त गरे। मन्त्री बस्नेतले खादा माला र मायाको चिनो दिएर सचिव तिवारीको बिदाइ गरे। सो अवसरमा सचिव तिवारीले आफ्नो ३१ वर्षे सरकारी सेवाको अनुभव सुनाउँदै सक्रियता र जनउत्तरदायी कर्तव्यले सरकारी कर्मचारीलाई सफल बनाउने बताए।