राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणमा जोड दिइन्छ : प्रधानमन्त्री

PM_Prachanda
लोकपाटी न्यूज

भरतपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस वर्ष पनि किसानलाई समयमै रासायनिक मल उपलब्ध हुने बताएका छन्। भरतपुर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले भने, ‘पोहोर साल मलको खासै अभाव भएको सुनिएन। यस वर्ष पनि हामी रासायनिक मलको राम्रो तयारीमा छौं, मलको अभाव हुन दिइँदैन।’

चितवनका केरा किसानलाई बिमा बापतको रकम उपलब्ध गराउन सरकार गम्भीर भएर लागेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सकेसम्म चाँडो किसानका समस्या समाधान गर्न लागिपरेको स्पष्ट पारे। उनले जनताले अनुभूत गर्ने गरी परिणाम दिन सरकार क्रियाशील रहेको बताए।

पार्टी एकीकरणका विषयमा प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी तत्काल र हतारमा पार्टी एकता वा वामपन्थी एकता गर्ने पक्षमा छैनौं। धेरै राम्रो उत्साह आएर पनि विगतमा दुर्घटना भयो, त्यस कारण वाम एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छ।’

राम्रो सहकार्य गरेर जाँदा जनताले देख्ने गरी काम गर्न केन्द्रित हुनुपर्नेमा जोड दिँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सतर्कताका साथ आफूहरू अघि बढेको स्पष्ट पारे।