एकीकृत समाजवादी अरु जस्तो साधारण पार्टी होइन : नेपाल

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्व सहमतिका साथ नेतृत्व टुंगो लगाइयोस् भन्ने पार्टीपंक्ति र जनआकांक्षाअनुसार महाधिवेशनले नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरेका छन्। महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको विशिष्ट अवस्थामा नेताहरू हातेमालो गर्दै मिलेर अगाडि बढ्न कार्यकर्ताबाट स्वरहरू बढिरहेको बताए।

अध्यक्ष नेपालले राजनीति घटनाक्रममा आफ्नो पार्टीले सक्रिय हस्तक्षेप गरेको बताएका छन्। उनले घटनाक्रमलाई निर्णायक मोड दिने र नेपालको राजनीतिक दिशा बोध गर्न नेकपा एसले महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले अरू पार्टी जस्तो सामान्य पार्टी एकीकृत समाजवादी नभएको दाबी गरे। उनले आफूहरूले प्रत्येक चुनौतीको सामना गर्दै आएका स्मरण गरे।

‘नेपाली समाजमा ठूल ठूला उथलपुथल भएका छन्। प्रत्येक उथलपुथलमा हामीहरूले अत्यन्तै महत्त्वपूर्ण अग्रगामी भूमिका खेलेका छौ। अगुवाइ गरेका छौं। सहभागिता मात्र भएको होइन। लिड गरेका छौं। हाम्रो नेपाल कम्युनिष्ट एकीकृत समाजवादी पार्टी त्यस्तो पार्टी हो,’ उनले भनेका छन्, ‘अरू पार्टी जस्तो साधारण पार्टीको रुपमा होइन। त्यतिकै घटनाक्रममा सहभागी हुने पार्टी होइन। घटनाक्रमलाई निर्णायक मोड दिने, सक्रिय हस्तक्षेप गर्ने, अरूलाई पनि आफ्नो पछि पछि लगाउन सक्ने, नेपालको राजनीतिक दिशा बोध गर्ने, यो खुबी र क्षमताका साथ यो पार्टी अगाडि बढ्दै आएको छ। हामीहरूले प्रत्येक चुनौतीको सामना गर्दै आएका छौं।’