सुदूरपश्चिमका पाँच मन्त्रीको जिम्मेवारी बाँडफाँड

sudurpaschim_mukhmantri
लोकपाटी न्यूज

काठमाडौं। सुदूरपश्चिम प्रदेशका पाँच जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन्। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रालय फुटाएर उनीहरूलाई जिम्मेवारी दिएका हुन्। पाँचै जना मन्त्रीले आजै कार्यभार सम्हालेका छन्।

विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिन मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएका हुन्।

भौतिक फुटाएर बनाइएको जलस्रोत तथा सहरी मन्त्रालय नेकपा (माओवादी केन्द्र) का अक्कल रावलले पाएका छन्। यस्तै नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस्तै सामाजिक मन्त्रालय फुटाएर माओवादीका ओमविक्रम भाट सरललाई स्वास्थ्य महिला तथा बालबालिका र माओवादीकै लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्री बनाइएको छ।

यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर नेकपा (एमाले) का वीरबहादुर थापा पातललाई वन तथा सहकारी र नेकपा (एकीकृत समाजवादी) का माया पन्तलाई उद्योग, वाणिज्य, पर्यटन र संस्कृति मन्त्री बनाइएको छ। एमालेकै हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले गएको जेठ २८ गते सात जनालाई मन्त्रीमा नियुक्त गरेका थिए। ती मध्ये यी पाँच जनाले जिम्मेवारी पाएका थिएनन्। सुदूरपश्चिममा यस अघि सात पूर्ण र चार राज्य गरेर ११ सदस्यीय मन्त्रीमण्डल रहेकामा अब १० जना पूर्ण मन्त्री बनेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्