म समाजवादी हो कि होइन भनी नेताहरूले आफूलाई प्रश्न गर्नुपर्छ : सिके राउत

CK raut
लोकपाटी न्यूज

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउतले समाजवादी नेताहरूले आफू समाजवादी हो कि होइन भनी प्रश्न गर्नुपर्ने बताएका छन्। एकीकृत समाजवादीको दसौं महाधिवेशनमा उनले नेताहरूले समाजवादको गफ गरे पनि व्यवहारमा समाजवादी बन्न नसकेको आरोप लगाए।

महिनाको १५ दिन पाँचतारे होटलमा खाना खान जाने नेताहरूले म समाजवादी हुँ भन्न नसुहाउने अध्यक्ष राउतले बताए। समाजवादी गफ र व्यवहारिक वास्तविकतामा ठूलो अन्तर रहेको उनको भनाई थियो। समाजवादलाई नागरिकको जीवनस्तरसँग जोडेर हेर्नुपर्नेमा उनले जोड दिए। जनताको जीवनस्तर एकातिर, समाजवादीहरू अर्कोतिर रहेको स्पष्ट देखिने गरेको उनको आशय थियो। कर्णालीका नागरिकले बिरामी हुँदा सिटामोल नपाउने देशमा विदेशमा गएर उपचार गर्ने नेताहरू समाजवादी हुन नसक्ने पनि बताए।

‘जुन ठाउँमा कर्णालीका अस्पतालहरूमा मानिस बिरामी हुँदा नुन पाइरहेका छैनन्, सिटामोल पाइरहेका छैनन्, र मचाहिँ महँगो अस्पतालमा उपचार गराउन जान्छु, त्यस्तै परे विदेशै उपचार जान्छु भने म समाजवादी हो कि होइन ? म एकातिर रोजगारी दिने कुरा गर्छु, अर्कोतिर युवालाई कसरी विदेश पठाउने भनेर लाखौंको संख्यामा पठाउने भनेर त्यहाँ सम्झौता गर्छु भने म समाजवादी हो कि होइन ? म आफ्नो छोराछोरीलाई महँगो स्कुलमा भर्ना गर्छु, जहाँका विद्यार्थीहरू ४८ प्रतिशत मुस्किलले पास हुन्छन् ? म समाजवादी हो कि होइन ?,’ उनको प्रश्न थियो।

अध्यक्ष राउतले समाजवाद भन्ने शब्द आफूलाई निकै गह्रुँगो लाग्ने बताए। उनले समाजवादी हुन चाहिने मापदण्ड समाजवादी नेताहरूले पालना गरेका छन् कि छैनन् भन्ने प्रश्न रहेको बताए। ‘सुन्दा अनौठो लाग्ला मलाई तपाईंहरूको पार्टीको नाम निकै मन पर्छ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी पनि धेरै प्रिय र पवित्र लाग्छ। समाजवादी शब्द पनि उत्तिकै प्रिय लाग्छ। जति पवित्र र प्रिय लाग्छ, उत्तिकै डर पनि लाग्छ,’ उनले भने, ‘मलाई समाजवादहरू भन्ने शब्द निकै गह्रुँगो लागे पनि एकीकृत समाजवादीका नेता कार्यकर्ता निकै खारिएर आएकाले बोक्न सक्षम हुनुहुन्छ कि भन्ने लाग्छ।’