म गतिशील हुँ, मार्क्सवाद जमेको पोखरीजस्तो होइन : प्रचण्ड

Prachanda_PM
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अस्थिर नभई गतिशील नेता रहेको बताएका छन्। नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनमा उनले प्रचण्डले आफू गतिशील नभएको भए समृद्धिको नयाँ अभियानमा यहाँसम्म आइनपुग्न नसकिने दाबी गरेका हुन्।

‘तपाईंहरूको दस्तावेजमा प्रचण्ड अस्थिर भन्नुभएको छ। तपाईंलाई त्यो भन्ने अधिकारमा प्रश्न उठाउँदिनँ। तर यत्ति त भन्छु। समृद्धिको नयाँ अभियान चलेको छ, प्रचण्ड अलि अस्थिर नभएको भए हुँदैन थियो। प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि हुँदैन थियो। इन्भर्टेड कमाको अस्थिर है फेरि साँच्चै अस्थिर ठान्नुहोला,’ उनले भने, ‘अस्थिर नभएको भए शान्ति प्रक्रिया पनि हुँदैन थियो। अस्थिर नभएको भए यो प्रक्रियामा हामी आइपुग्ने पनि थिएनौं।’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले अस्थिर र गतिशीलबारे ठिक ढंगले विश्लेषण गर्न आग्रह गरे। ‘गतिशीलता भनेको के हो, हरेक चिज निरन्तर परिवर्तनको प्रवाहमा हुन्छ भनेको के हो ? किलोजस्तो एक ठाउँमा ठोकिएर बसिरहनु मार्क्सवाद हो कि, जमेको पानीको पोखरीजस्तोगरी बस्नु मार्क्सवाद हो कि, गडगडाउँदो नदीजस्तो भएर हुर्रिने मार्क्सवाद हो ?,’ उनले भने, ‘मार्क्सवाद जमेको पोखरीजस्तो होइन। भनेपछि भन्यो भन्यो होइन। ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थिति अनुसार निष्कर्ष निकाल्नु मार्क्सवाद हो।’

प्रचण्डले गतिशीलताको अर्थ नबुझेर नेकपा एस जडतामा फस्ने खतरा हुन्छ कि भन्ने चिन्तासमेत व्यक्त गरे। उनले भने ‘गतिशीलताको अर्थ नबुझेर तपाईंहरू जडतामा फस्ने खतरा हुन्छ कि भन्ने चिन्तासमेत व्यक्त गर्छु। ठिक छ तपाईंहरूको महाधिवेशन हो डिभेट गर्नुहोला। निर्णय गर्ने अधिकार तपाईंहरूकै हो।’

प्रचण्डले अहिले पनि आफूले राष्ट्रिय सहमतिको पक्षपोषण गर्ने बताए। उपलब्धिको रक्षाको निम्ति पनि एक ठाउँमा उभिन जरुरी रहेको उनले बताए। नेपालमा केही छैन र नेताहरू र पार्टीहरू सबै खत्तम छन् भन्ने प्रतिगमनकारी भाष्य चिर्न जरुरी रहेको प्रचण्डले बताए। उनले भ्रष्टाचारका विरुद्ध पहलकदमी बढाइरहेको बताउँदै भ्रष्टहरू गिरफ्तार हुने र मुद्दा चल्ने क्रम चलिरहेको बताए। भ्रष्टाचारविरुद्धको अभियान निस्तेज पार्ने प्रयास भइरहेको पनि प्रचण्डले बताए।