काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि असार १९ गते बस्ने भएको छ।

सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल हुने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। संघीय संसद्का दुई ठूला दल काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सोमबार सहमति गरेका हुन्।

दुई दलबीच संविधान संशोधनलगायत ‘एजेन्डा’सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति भएको छ। लामो छलफल र गृहकार्यपछि नेपाली काँग्रेस र नेकपा (एमाले) बीच सत्ता साझेदारी गर्नेसम्बन्धी सहमति पत्रमा गए राति हस्ताक्षर भएको हो। सहमति पत्रमा काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन्।