विश्वासको मतसम्म प्रधानमन्त्रीलाई रास्वपाको साथ

Prachand_Rabi
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। सत्ता साझेदार पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको करिब २ घण्टाको छलफलपछि रास्वपा मन्त्रीहरूले तत्काल राजीनामा नबुझाउने भएका हुन्।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीको संवैधानिक अधिकारलाई सम्मान गर्ने निष्कर्षमा आफूहरू पुगेको बताएका छन्। प्रधानमन्त्रीलाई विश्वासको मत लिने दिनसम्म साथ दिने उनको भनाई थियो। प्रधानमन्त्री प्रचण्डको आग्रहमा रास्वपा यो निष्कर्षमा पुगेको प्रमुख सचेतक परियारले बताए।

प्रधानमन्त्री प्रचण्डले संसद् फेस गर्ने तयारीमा रहेको भन्दै रास्वपालाई साथ दिन आग्रह गरेको उनको भनाई थियो। ‘प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रम जसरी अघि बढेको छ, संवैधानिक अधिकारको प्रयोग गर्छु, संसद् फेस गर्छु भन्नुभएको छ। उहाँको संवैधानिक अधिकारको सम्मान गर्दै हामीले कमसेकम उहाँले सदनलाई फेस गर्दासम्म साथ दिने गरी राजीनामा स्थगन गरेका हौं,’ प्रमुख सचेतक परियारले भने।

रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिन पनि आग्रह गरेको परियारले बताए। ‘हामीले प्रधानमन्त्रीलाई विश्वासको मत चाँडो लिनुहोस्। आफ्नो संवैधानिक अधिकार चाँडो प्रयोग गर्नुहोस् भनेर फर्कियौं। बाँकी कुरामा हामी आन्तरिक छलफल गर्दैछौं।’

रास्वपाबाट सरकारमा गृहसहित चार जना मन्त्री सहभागी छन्। बुधवार नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि सत्ता गठबन्धनका दुई ठुला दल माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताबिचको बिहीबार बिहान प्रधानमन्त्रीसँग छलफल भएको थियो। परियारले आफूहरू अर्को गठबन्धन र सरकारमा नजाने स्पष्ट पारे। ‘त्यो गठबन्धन विश्वास गर्न लायक छैन,’ उनले भने।