दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन हुनुपर्छ : मन्त्री बुढा

Dhan_Bahadur_Budha
लोकपाटी न्यूज

काठमाडौं। सहरी विकासमन्त्री धनबहादुर बुढाले भौगोलिक विकटताको आधारमा बजेट विनियोजन हुनु न्यायोचित रहेको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा बोल्दै मन्त्री बुढाले दुर्गम क्षेत्रलाई अझ बढी प्राथमिकतामा राखेर बजेट विनियोजन हुनु आवश्यक रहेको बताए।

‘स्रोतको न्यायोचित वितरण केबल जनसङ्ख्याको आधारमा मात्रै गर्ने परम्पराबाट माथि उठेर भूगोल र भौगोलिक विकटतालाई समेत मध्यनजर गरी दुर्गम क्षेत्रलाई अझ बढी प्राथमिकतामा राखेर बजेटको व्यवस्था गरिनुपर्दछ,’ उनले भने। करिब ४३ हजार जनसङ्ख्या भएको डोल्पामा सहरी विकास मन्त्रालयको कूल बजेटको करिब १.८३ प्रतिशत मात्रै विनियोजन हुनु स्वाभाविक, न्यायोचित र जरुरी रहेको उनको भनाइ थियो।

मन्त्री बुढाले बर्सेनि हजारौँ पर्यटक भित्र्याउन सफल डोल्पाका बासिन्दाले नुन र चामलको समेत अभाव झेल्दै आएका उल्लेख गरे। ‘डोल्पाको भौगोलिक अवस्था र त्यहाँको आवश्यकता अनुसार विनियोजित बजेट अझै पर्याप्त छैन,’ उनले भने। संघीय गणतन्त्रात्मक व्यवस्थाको मर्म र भावनाअनुरूप डोल्पाली जनताका माग केही हदसम्म वर्तमान सरकारले सम्बोधन गरेको उनको भनाइ थियो।

‘विकट डोल्पामा पर्याप्त मात्रामा बजेट विनियोजन गरेर द्रुतगतिमा विकास गर्न आवश्यक छ,’ उनले भने। विगतमा पहुँचका भरमा केही निश्चित क्षेत्र र भूगोलका लागि मात्रै बजेट छुट्टयाउने गरेकामा सहरी विकास मन्त्रालयले यस वर्ष बिना स्वार्थ निष्पक्षरुपमा बजेट न्यून पाएका जिल्ला तथा क्षेत्रमा न्यायोचित ढङ्गले आवश्यकता र औचित्यतताका आधारमा मात्रै बजेट विनियोजन गरेको मन्त्री बुढाले बताए।