नीतिगत स्थायित्व भएमात्रै देश विकास हुन्छ : अर्थमन्त्री पुन

Barsaman_pun
लोकपाटी न्यूज

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले देशको आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने सरकारको नीति रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेपालको कृषिको रूपान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले चालु बजेटमा आलु प्याज लगायतमा लगाएको भ्याट हटाई आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको उल्लेख गर्दै त्यसले कृषिको आधुनिकीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

उनले सरकारले २०८१-२०९१ लाई कृषि दशक घोषणा गरेको उल्लेख गर्दै राजनीतिक नेतृत्व र मन्त्रीहरु फेरिएपनि नीति नफेरिने प्रतिवद्धता जनाए। उनले नीतिगत स्थायित्व भएमात्रै देश विकास हुने बताए। चालु आर्थिक वर्षमा कृषि उत्पादनहरुमा भ्याट लगाइएको भएपनि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएको बताए।

अर्थमन्त्री पुनले नेपालले आइटी क्षेत्रमा विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने बताए। उनले पर्यटन, जलविद्युत क्षेत्रमा विश्वसँग प्रतिष्पर्धा गरिरहेको बताए। पर्यटन क्षेत्रमा यस वर्ष मात्रै २१ प्रतिशतको ग्रोथ रेट रहेको बताए।