मधेशमा चार दलका ६ मन्त्री बर्खास्त

Satish_Kumar_Singh
लोकपाटी न्यूज

काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री सिंहले एमाले र जनतमबाहेकका सरकारमा सहभागी सबै मन्त्रीहरूलाई बर्खास्त गरेका हुन्। मुख्यमन्त्रीले शनिबार दिउँसो प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। त्यसअघि मुख्यमन्त्री सिंहले चार दलका मन्त्रीलाई बर्खास्त गरेका हुन्।

मधेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेको पत्र मुख्यमन्त्री सिंहले प्रदेश प्रमुखको कार्यालयमा पठाएका छन्। मुख्यमन्त्री सिंहले केन्द्रमा फेरिएको गठबन्धनअनुसार नै नयाँ सरकार गठन गर्नुपर्ने भएकाले बर्खास्त गरिएको प्रतिक्रिया दिएका छन्।

मुख्यमन्त्री सिंहले माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका भरतप्रसाद साह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, नेकपा एसबाट कृषि मन्त्री बनेका गोविन्द न्यौपाने र खानेपानीमन्त्री बेची लुङ्गेलीलाई बर्खास्त गरेका छन्। त्यसैगरी, नेपाल संघीय समाजवादी पार्टीबाट गृहमन्त्री बनेकी विमला अन्सारी र नागरिक उनमुक्ती पार्टीबाट यातायात मन्त्री बनेकी उर्मिला सिंहलाई बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए।

विश्वासको मत लिए लगत्तै काङ्ग्रेस र लोसपालाई लिएर मुख्यमन्त्री सिंहले सरकार बिस्तार गर्ने बताइएको छ। मुख्यमन्त्री सिंहलाई काँग्रेस र एमालेले विश्वासको मत दिने भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्