एमालेले भन्यो : प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, कुनै पनि निर्णय गर्नुहुँदैन

Mahesh_Bartaula
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। संघीय संसद् भवनस्थित ल्होत्से हलमा आज बसेको संसदीय दलको बैठकले सरकार अल्पमतमा परिसकेकोले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको हो।

अल्पमतमा रहेको सरकारलाई कुनै निर्णय गर्ने अधिकार नभएको उल्लेख गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले कुनै पनि निर्णय नगर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराए। ‘यो सरकारले कुनै निर्णय गर्ने हैसियत राख्न सक्दैन। त्यो मत गुमाइसकेको छ। अहिले निर्णय गर्नु राष्ट्रहित विपरीत हुन्छ। कुनै निर्णय नगर्न सचेत गराएको छ,’ उनले भने।

साथै, आजको बैठक नेकपा एमाले र नेपाली काँग्रेसबिच बन्न लागेको राष्ट्रिय सरकारलाई स्वागत गर्ने निर्णय पनि गरेको छ। असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिए विपक्षमा मतदान गर्ने निर्णय पनि गरेको बर्तौलाले बताए।