संसद्को प्रतिपक्षी बेन्चमा एमाले, कसले के भने ?

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले प्रतिनिधिसभामा प्रतिपक्षी बेन्चमा बसेको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले प्रतिपक्षी बेन्चमा बसेको हो। हाल प्रतिनिधिसभामा नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी बेन्चमा छ।

एमाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएर काँग्रेससँगै बस्न पुगेको छ। प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराए। ‘वर्तमान सरकारले बहुमत गुमाएको छ। बहुमत गुमाएको सरकार पदमा रहिरहन अनुचित हुन्छ। नेपाली काँग्रेस र नेकपा (एमाले) बीचमा नयाँ राष्ट्रिय सरकार बनाउने सहमति भएको छ। यो अभियानलाई सहयोग गर्न मार्ग प्रशस्तका लागि प्रधानमन्त्रीलाई आग्रह गर्छु,’ उनले भने।

एमालेका सांसद सूर्यप्रसाद ढकालले पनि सरकार अल्पमतमा परेको भन्दै मार्ग प्रशस्त गर्न अनुरोध गरे। ‘सरकार अल्पमतमा परेको हुनाले छिटोभन्दा छिटो राजीनामा दिएर मार्ग प्रशस्त गर्न अनुरोध गर्न चाहन्छु,’ उनले भने। त्यस्तै एमालेका सांसद रघुजी पन्तले अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिएर बाटो फुकाउनुपर्ने बताए। अल्पमतमा परेपछि ७६ (२) मा जान्छ कि ७६ (३) मा जान्छ, त्यो राष्ट्रपतिको चिन्ताको विषय हो। उहाँको काम भनेको बहुमत नभएपछि तत्काल राजीनामा दिएर बाटो फुकाउने हो,’ उनले भने।

त्यस्तै प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले निरन्तरको वर्षासँगको बाढी र पहिराबाट सिङ्गो मुलुक प्रभावित भएकाले प्रतिकार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले नागरिकको जीउधनको रक्षा गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै विपद्मा परेका नागरिकको उद्धार तथा राहत वितरणलाई प्रभावित बनाउन माग गरेका छन्। सांसद शंकर भण्डारीले मुलुकभर विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सरकारसँग आग्रह गरे। ‘७७ वटै जिल्लामा सम्भावित जोखिमको पूर्वानुमान गरेर उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। नागरिकको जीउधनको रक्षा गर्न सरकार गम्भीर हुनुपर्छ,’ उनले भने।

सांसद नारायणप्रसाद आचार्यले पाल्पाको निस्दी, पूर्वखोला, माथागढी, रम्भा र रैनादेवी छहरालगायत ग्रामीण क्षेत्रमा सडक र विद्युत् सेवा अवरुद्ध भएको जानकारी दिँदै अत्यावश्यक सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए। यस्तै, सांसद हितराज पाण्डेले लगातारको वर्षाका कारण देशका विभिन्न भागमा जनधनको क्षति भएको जनाउँदै विपद्मा परेका नागरिकको उद्धार तथा राहत वितरणमा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराए। बाढी र पहिरोमा परी निधन भएकाप्रति श्रद्धाञ्जली प्रकट गर्दै बेपत्ताको खोजी गर्न तथा घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद छिरिङ ल्हामु लामा तामाङले वर्षाका कारण सडक भासिँदा कर्णाली राजमार्ग अवरुद्ध भएको जनाउँदै अवरुद्ध सडक तत्काल सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद अब्दुल खानले विकास निर्माणका परियोजनालाई प्राकृतिक प्रकोप प्रतिरोधी बनाउन माग गरे। सांसद राजु थापाले अविरल वर्षाका कारण सिङ्गो मुलुक प्रभावित भएको उल्लेख गर्दै प्रतिकार्यका कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्