काँग्रेस-एमालेलाई केसीको प्रश्न : शरणार्थी र गिरिबन्धु काण्डमा दुई पार्टीको सम्झौता हो ?

Chitra_Bahadur_KC
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचारका काण्डहरूबाट आफूलाई चोख्याउन नेपाली काँग्रेस र नेकपा (एमाले)ले नयाँ सत्ता समीकरण बनाएको भए मान्य नहुने बताएका हुन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले नक्कली भुटानी शरणार्थी र गिरिबन्धु टी इस्टेट प्रकरण ढाकछोप गर्न काँग्रेस-एमालेबीच सहकार्य गरिएको हो भनेर प्रश्न उठाए।

‘यदि भ्रष्टाचारलाई छामछुम पार्नलाई, नक्कली भुटानी शरणार्थी र गिरिबन्धु टी-इस्टेट काण्डमा दुई वटा ठूला पार्टीको सम्झौता हो भने यो नेपाली जनतालाई मान्य हुन्न,’ उनले भने। अध्यक्ष केसीले संसद्को रोष्ट्रमबाट कसैले सफाइ दिए पनि नेपाली जनताले देखिरहेको र भोगिरहेको बताए। उनले भ्रष्टाचारबाट कुन पार्टी मुक्त र चोखो छ भन्दै प्रश्न गरे।

‘को चोखो छ ? भ्रष्टाचारबाट कुन पार्टी मुक्त छ ? यसभन्दा पहिलेको जुन गठबन्धन बन्नुको पछाडि के थियो ?,’ केसीले प्रश्न गरे। संसदीय व्यवस्था मान्नेले सबभन्दा ठुलो पार्टीले सरकार बनाउनुपर्नेमा त्यसो नगरी अहिले पनि दोस्रो ठुलो दलले सरकार बनाउन खोज्नु रहस्यमय भएको बताए। संसदको दोस्रो ठूलो दल एमालेको नेतृत्वमा नयाँ सरकार गर्ने सम्झौताप्रति उनले असन्तुष्टि व्यक्त गरे।

‘मैले एक वर्ष पहिले नै भनेको थिएँ- तपाईंहरू संसदीय व्यवस्था मान्नु हुन्छ, सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्नुपर्दैन थ्यो? किन यस बेला आएर बल्ल निन्द्रा खुल्यो,’ उनले भने, ‘त्यो पनि सबभन्दा ठूलाले होइन, माइलो पार्टीले गर्दैछ। यसमा पनि दालमा काला हे।’

दलहरूबाट जनता आक्रोशित भएको उल्लेख गर्दै अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्र दलहरूकै व्यवहारबाट खतरा रहेको बताए। उनले बाढी पहिरोले जनताको बिचल्ली भएका बेला दलहरू सत्ताको दौडमा लागेको टिप्पणी गरे।