देशलाई प्रतिगमनतिर फर्काउने प्रयासविरुद्ध मुकाबिला गरौं : अधिवक्ता भण्डारी

Ekaraj_Bhandari
लोकपाटी न्यूज

काठमाडौं। वरिष्ठ अधिवक्ता एकराज भण्डारीले संविधान संशोधनको मुद्दा उठाएर काँग्रेस-एमालेको गठबन्धनले जनताको बलिदान र त्यागबाट आएको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र गरेको आरोप लगाएका छन्। संवाद डबलीमा मंगलबार आयोजित एक कार्यक्रममा उनले देशलाई प्रतिगमनतिर फर्काउने प्रयासविरुद्ध परिवर्तनकारी शक्ति एक भएर मुकाबिला गर्नुपर्ने बताएका हुन्।

भण्डारीले काँग्रेस-एमालेको संविधान संशोधनको मुद्दाले माओवादी र उत्पीडित जनतालाई झस्काएको बताए। उनले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता योद्धा छानबिन समितिलाई अलपत्र पारेर शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन चुक्नु दुर्भाग्य भएको बताए। ‘हजारौं सहिद तथा बेपत्ताहरूको न्याय र जनताको हितका निम्ति सबै माओवादी र परिवर्तनकारी शक्तिहरू एक ठाउँमा आउनुको विकल्प छैन,’ भण्डारीले भने।

उनले अस्थिरताको गोल चक्करमा फसाएर देशलाई असफल र कंगाल बनाउने मुख्य दोषी संसदीय व्यवस्था भएको र त्यसको विकल्प खोज्नु पर्ने धारणा राखे। क्रान्तिबाट आएको माओवादी शक्ति पनि संसदीय भाषामा फेसको कराण उपलब्धिको रक्षा नभएको जिकिर गर्दै उनले भने, ‘यो व्यवस्थामा प्रचण्ड, केपी या देउवा जो आए पनि सबै दूध चोर बिराला जस्तै हुन्, त्यसैले अब यो व्यवस्थाको व्यवस्थाको विकल्प खोजौं।’