जनमत पार्टीले गर्‍यो केन्द्रीय सचिवसहित ७ जनालाई निलम्बन

Janamat_Party_CK
लोकपाटी न्यूज

काठमाडौं। जनमत पार्टीले राष्ट्रिय सचिवसहित सात जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ। आन्तरिक छानबिन समितिको प्रतिवेदनको आधारमा उनीहरूलाई निलम्बन गरिएको सचिव अनिताकुमारी मण्डलले जानकारी दिइन्।

निलम्बनमा पर्नेमा राष्ट्रिय सचिव विश्वेश्वर प्रसाद (बिपी) साह, केन्द्रीय सदस्य रामेश्वर यादव, मर्चेया नगरपालिकाका सचिव कृष्ण चन्द्र साह, विद्यार्थी जनमत संघका पूर्व जिल्ला अध्यक्ष अरबिन्द सहनी, साधारण सदस्य धिरज कामती, वडा प्रत्याशी अनिता कुमारी यादव, र पूर्व नपा सचिव दीप नारायण यादव रहेको मण्डलले जानकारी दिइन्।

पार्टीको केन्द्रीय सम्पर्क कार्यालय मध्य बानेश्वरमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीको नीति निर्देशन र विधान विपरीत अनुशासनहीनता देखिएको भन्दै सात जनालाई कुनै पनि कामकाजमा सहभागी नहुने गरी तीन महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको हो। उनले निलम्बन पश्चात् सुधार देखाउने वा नदेखाउने व्यवहार अनुसार निलम्बन फुकुवा वा थप कारबाही प्रक्रिया अघि बढाइने बताइन्।