प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्विप

congress samsadiya dal
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। शुक्रबार प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन लागेको सन्दर्भमा कांग्रेस संसदीय दलले सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो।

भोलि बिहान ११ बस्ने प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको प्रमुख सचेतक रमेश लेखकले बताए। ‘असार २८ गते शुक्रबारका दिन विहान ११ बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन  (ह्विप) जारी गरिन्छ’, कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जारी गरेको निर्देशनमा भनिएको छ।

कांग्रेस एमाले मिलेर सरकार बनाउने सहमतिपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिँदैछन्।नेकपा एमालेले पनि यसअघि नै विपक्षमा मतदान गर्न सांसदहरुलाई निर्देशन दिइसकेको छ।