आर्थिक समृद्धिका पाँच रणनीतिक क्षेत्रभित्र सूचना प्रविधि पनि समेटियो : मन्त्री शर्मा

Rekha_Sharma
लोकपाटी न्यूज

पाटन। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक समृद्धिका पाँच रणनीतिक क्षेत्रभित्र सूचना प्रविधिलाई समेटिएको बताएकी छन्। आज यहाँ आयोजित एक कार्यक्रममा उनले आइसिटीको महत्वलाई बुझेर सरकारले यसको विकासका लागि काम गरिरहेको बताइन्।

मन्त्री शर्माले भनिन्, ‘१६ औँ पञ्चवर्षीय योजनामा समेत आइसिटीलाई समेटिएको छ, बजेटमा कृषि दशक र आइसिटी दशक घोषणा भएको छ। उच्च क्षमताको इन्टरनेट उपलब्ध गराएर युवालाई अनुसन्धानमा सहयोग गर्नुपर्छ।’ उनले सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्ने गरी अगाडि बढाउनुपर्ने बताइन्। सूचना प्रविधिको वर्तमान युगमा यसको विकास नेपाली जनताले बुझ्ने र प्रयोग गर्ने भाषामा हुनुपर्ने उनको भनाई छ।

सूचना प्रविधिलाई अभियानका रुपमा विकास गरिनुपर्नेमा उनको जोड छ। विश्वविद्यालयबाट तयार भएका जनशक्ति र उद्योगलाई जोडेर सूचना प्रविधिको क्षेत्रलाई विकास गर्नसके विदेशिनुपर्ने बाध्यता हट्ने मन्त्री शर्माको विश्वास छ। उनले सूचना प्रविधिको क्षेत्रमार्फत नेपालले विश्वभर प्रतिस्पर्धा गर्न सक्ने बताइन्। साइवर सुरक्षाका लागि पुराना कानुनलाई संशोधन गर्ने र नयाँ कानुन निर्माण गर्ने कार्यको सुरुआत भइसकेको उनले जानकारी दिइन्।

चालु आर्थिक वर्षमा सातै प्रदेशमा डिजिटल साक्षरताका कार्यक्रम राखिएको भए पनि सञ्चालन हुन नसकेको उल्लेख गर्दै मन्त्री शर्माले उक्त कार्यक्रम आगामी आर्थिक वर्षमा सञ्चालन हुने विश्वास व्यक्त गरिन्। त्रिभुवन विश्वविद्यालय इञ्जिनीयरिङ अध्ययन संस्थान देश र विदेशमा चिनिएको संस्था भएको उल्लेख गर्दै उनले दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा सञ्चालित उक्त कार्यक्रम सफल पार्न संस्थानको भूमिका महत्त्वपूर्ण हुने बताइन्।